May 4, 2025

नेप्से परिसूचक ३.४४ अंक घटेर २६६६.६१ विन्दुमा झरेको


काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ३.४४ अंक घटेर २६६६.६१ विन्दुमा झरेको छ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ५३ हजार ४९२ पटकको कारोबारमा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड ६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य सर्वाधिक ५.८५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड १४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्ते, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक परिसूचक घटेको छ।

यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ।

त्यस्तै, यस दिन वित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।