Apr 13, 2025

‘जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुन्छ


संघको रजत जयन्तीको शुभकामना कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री भण्डारीले ‘जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुन्छ, बताएका छन् ।

नेपाल हिमालय सिमापार वाणिज्य संघले २५ औं साधारणसभा तथा रजत जयन्ती  कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री भण्डारीले संघको रजत जयन्तीको शुभकामना दिएका थिए ।

उनले वस्तुभन्दा जनशक्ति निर्यात राज्यलाई स्वीकार्य नभएको र त्यो रोक्नका लागि उद्योग, व्यवसाय बढाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘व्यवसाय धरापमा पर्नु भनेको राज्य धरापमा पर्नु हो । जब व्यवसाय फस्टाउँछ तब मात्र राज्य फस्टाउने हो । राज्य र व्यवसायबीचको बुझाइ सत्तामा हुँदा एउटा र सत्ता बहिर जाँदा फरक हुने गरेको देखिन्छ । राजनीतिको यस्तो एउटा नियती नै बनेको छ । व्यवसायीलाई हेर्ने दृष्टिकोण, उद्योगीलाई हेर्ने दृष्टिकोणमा अहिलेपनि विभिन्न खालका भ्रान्तिहरु छन् । वस्तु भन्दा जनशक्ति निर्यात राज्यलाई स्विकार्य छ । त्यो रोक्नका लागि उद्योग जोगाउनुपर्छ, व्यवसाय बढाउनुपर्छ ।’

साथै उनले जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुने बताए । उनले उद्योग भएन, व्यवसाय भएन भने रोजगारी कहाँबाट सिर्जना हुन्छ भन्दै व्यापारीहरुलाई प्रश्न गरेका थिए।

उनले भने, ‘जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुन्छ । अर्थतन्त्रका संकुचन आएको छ । यसो भनिरहँदा उद्योगीसँग मिलेको दलाल मन्त्री भनेर पनि भन्न भ्याउँछन् । उद्योग भएन, व्यवसाय भएन भने रोजगारी कहाँबाट सिर्जना हुन्छ ? यहाँको व्यवसायले जब मुनाफा कमाउँछ । त्यसपछि पो रोजगारी सिर्जना हुने हो।’

त्यस्तै कार्यक्रम स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष कार्कीले व्यवसायीहरुका वर्तमान समस्याका बारेमा मन्त्री भण्डारीको ध्यानाकार्षण गराएका थिए ।

उत्तरी नाकाको भौतिक पूर्वाधारको सुधार, नाका आवातजावत गर्नका लागि पासको व्यवस्था, नेपाल तिब्बत बस सेवा सुचारु गरिनुपर्ने, चिनसँगको व्यापार विस्तारका लागि सरकारले विशेष पहल गर्नुपर्नेे, भन्सारदर घटाउनुपर्ने, आयात मात्र नभएर निर्यातका लागि पनि सरकारले पहल गरिदिनुपर्ने लगायतका मागहरु मन्त्री भण्डारी समक्ष राखेका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष कुमार पाण्डे, एफएनसिसिआइका कोषाध्यक्ष भरत आचार्य, एफएनसिसिआईका वस्तुगत तर्फका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, एफएनसिसिआईकै कार्यसमिति सदस्य नरेशलाल श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत, काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ लगायतले रजत जयन्तीको शुभकामना दिदै अहिलेको कार्यसमितिले व्यवसायीहरुको हकहित लागि गरेको कार्यको प्रशंसा गरे ।

साथै उत्तरी नाकाका समस्या र व्यवसायीले सामान आयात गर्दा भोग्नुपरेका विषयमा मन्त्रीको ध्यानाकार्षण गराएका थिए ।