ईकोनोमिक खबर, काठमाडौं । स्वचालित मूल्य प्रणाली अनुसार आइतबार १२ बजे रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको नेपाल आयल निगमले पत्रकार सम्मेलन मार्फ्त जानकारी दिएको हो ।
निगमले आज मध्यरात देखि लागु हुनेगरी पेट्रोलमा ६, डिजेलमा ४, ग्याँसमा १० रुपैंया घटाएर स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याईएको जनाएको छ ।
आईतबार पत्रकार सम्मेलन निगममा कार्यकारी निर्देशक उमेश प्रसाद थानीले निगमले एलपी ग्याँसमा कुनै पनि मुनाफा नराख्ने र डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने निर्णय निगम संचालक समितिले गरेको जानकारी दिए ।
उनले भने,‘ निगमले लागत मूल्यको आधारमा डिजेलमा २ प्रतिशत, पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा राखिने छ । आम उपभोक्ता र विशेष गरी गृहिणीहरूको हितलाई ध्यानमा राखि खाना पकाउने एल. पी. ग्यासमा निगमले कुनै मुनाफा नलिई लागत मूल्य वमोजिम नै खुद्रा मूल्य राखिने छ । ’
उनले हवाई इन्धनको हकमा भने मूल्य समायोजन नगर्ने निगम संचालक समितिको निर्णय रहेको पनि बताए ।
पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ र डिजेलमा प्रतिलिटर ४ रूपैयाँ घट्नेछ। एलपी ग्यासमा प्रतिसिलिण्डर १० रूपैयाँ घटाइएको छ। नेपाल भारतको ईन्धनमुल्य अन्तर पेट्रोलमा १३.२७ रुपैंया, डिजेलमा ७ रुपैंया र हवाई ईन्धनमा २३ रुपैंया सस्तो रहेको छ । सिमामा हुने पैठारीमा उचित निगरानी राख्नुपर्ने देखिन्छ ।
ईन्धन भएको बृद्धिका कारण घाटामा रहेको निगम यो वर्ष सबै रकम चुक्ता गर्ने सम्भावना देखिन्छ, अघिल्लो बर्षको घाटाको ५० अर्व लोन भुक्तानी भईसकेको थानीले बताए ।
विभिन्न कोषहरुको खर्च भएका रकम पनि विस्तारै चुक्ता गर्दै जाने योजना रहेको उनले बताए।