काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ रुटमा ३० बस सञ्चालन गर्दै साझा
Economic Khabar
४ आश्विन २०८३, आईतवार २१:२३
काठमाडौं। काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको पहुँचलाई रातिसम्म विस्तार गर्ने उद्देश्यले साझा यातायातले रात्रिकालीन बस सेवा विस्तार गर्ने भएको छ। अब उपत्यकाका ६ वटा रुटमा ३० वटा बस सञ्चालन गर्ने तयारी गरिएको छ।
यसअघि सीमित रुटमा सञ्चालन हुँदै आएको रात्रिकालीन सेवाले यात्रुको आवश्यकता र मागअनुसार थप रुट तथा बस थप्न लागेको हो।
साझा यातायातका अनुसार नयाँ व्यवस्थापछि रातिको समयमा कामबाट फर्किने कर्मचारी, विद्यार्थी, व्यवसायी तथा अन्य यात्रुलाई सार्वजनिक यातायातको विकल्प सहज हुनेछ।
रात्रिकालीन बस सेवा विस्तारसँगै उपत्यकामा सार्वजनिक यातायातको समयावधि बढ्नुका साथै निजी सवारीसाधनमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साथै, रातिको समयमा यात्रुको आवागमन सहज र सुरक्षित बनाउन सेवा सञ्चालनको नियमितता र रुट व्यवस्थापनलाई प्राथमिकता दिइने जनाइएको छ।