‘२६ औं फ्लोरा एक्स्पो २०८१’ काठमाडौंमा शुरु


काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनमा ‘२६ औं फ्लोरा एक्स्पो- २०८१’ काठमाडौंको भृकुटीमण्डपमा आज देखि शुरु भएको छ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका साथ चैत १ गतेदेखि भृकुटीमण्डप, प्रदर्शनीहलमा उक्त एक्स्पो शुरु भएको हो।

एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरू सहित गरी जम्मा बयासी वटा स्टल रहेको आयोजकले जनाएको छ ।

एक्स्पोको समुद्घघाटन कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले संघीय संरचनामा गएपछि पुष्प व्यवसायमा कमी आएको स्वीकार गरे। शर्माले वर्तमान अवस्थामा पुष्प नीतिमा सुधार आवश्यक रहेको भन्दै नीति परिवर्तनका लागि निजी क्षेत्रको समेत सहकार्य हुनुपर्ने बताए ।

यसैगरी, फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले संघीयतापछि अधिकांश कार्यक्रम स्थानीय तहमा हस्तान्तरण गरिए पनि पुष्प व्यवसायलाई स्थानीयस्तरबाट प्रभावकारी सुधार गर्न नसकिएको बताए । श्रेष्ठले फूल उत्पादन गाउँ केन्द्रित र खपत सहर केन्द्रित हुनुपर्ने भए पनि संघीयतापछिको व्यवस्थापन प्रभावकारी नहुँदा व्यवसायमा गिरावट आएको र कतिपय व्यवसायीले हात झिक्नु पर्ने अवस्था सिर्जना भएको उल्लेख गरे।

त्यस्तै, पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि एसोसिएसनले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला / प्रदर्शनीको आयोजना गर्दै आइरहेको आयोजकले जनाएको छ।

विगतका वर्षमा झै यसवर्ष पनि फ्लोरा एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराएको छ। साथै, उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलंकारिक बिरुवा, फूल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (जरबेरा, कार्नेशन, गुलाब आदि) विधामा पुरस्कृत गरिएको छ।

  • उत्कृष्ट स्टलमा अजिमा नर्सरी,
  • उत्कृष्ट आलंकारिक बिरुवामा थापा नर्सरी,
  • उत्कृष्ट फूल्ने बिरुवामा उदय गार्डन सेन्टर,
  • उत्कृष्ट मौसमी फूलमा बस्नेत नर्सरी,
  • उत्कृष्ट पुष्प सजावटमा महालक्ष्मी फ्लावर एण्ड डेकोर,
  • उत्कृष्ट कट फ्लावर ( जर्बेरा ) मा एभरेस्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्म,
  • उत्कृष्ट कट फ्लावर ( कार्नेशन ) मा रामकोट फ्लोरल एण्ड एग्रो फार्म र
  • उत्कृष्ट कट फ्लावर ( गुलाब ) मा एभरेस्ट फ्लोरल एण्ड एग्रो प्रा.लि. लाई पुरस्कृत गरिएको छ।

विजेताहरूलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

पारिजात नर्सरीलाई कदर पत्र तथा दोसल्ला ओढाई सम्मान:

ललितपुरको गोदावरी नगरपालिका -४, बडिखेलस्थित वि.सं. २०४५ सालमा स्थापना भई निरन्तर रुपमा पुष्प व्यवसाय गरीरहेको पारिजात नर्सरीलाई कदर पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको छ।

पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नवीनतम प्रविधिबारे प्रचार प्रसार गर्न सघाउ पुर्‍याउने उद्देश्यले पनि यसको आयोजना गरिएको यो एक्स्पोमा पुष्प व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने सबैका लागि मेला वृहत् साझा मञ्चको रूपमा रहेको आयोजकले दाबी गरेको छ।

‘ २६ औं फ्लोरा एक्स्पो ’ ले पुष्प व्यवसायलाई थप व्यावसायिक रूपमा सशक्त बनाउन र वातावरणीय सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

६० हजार अवलोकनकर्ता आगमन हुने 

एक्स्पो अवधिभर करिब ६० हजार अवलोकनकर्ताहरुद्धारा अवलोकन हुने तथा १ करोड बढीको व्यवसायीक कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ।

एक्स्पोलाई भव्य रुपमा संचालन गर्न विभिन्न संघ/ संस्थाहरुको सहयोग तथा सहकार्य रहेको फ्यानले जनाएको छ। साईमेक्स प्रा.लि. (वीवाईडि इभि गाडीको आधिकारी बिक्रेता), नेपाल डेरी प्रा.लि., प्रारम्भ बायोटेक, पान अमेरिकन सीडको स्पोन्सर रहेको छ।

चलचित्र ‘ भुठान ’ समुहको समेत पुष्प मेला प्रचारप्रसार

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यद्दारा अभिनित चलचित्र ‘ भुठान ’ समुहको समेत पुष्प मेला प्रचारप्रसारमा सहयोग रहेको छ।

मेला स्थलको भव्य डेकोरेसनमा विभिन्न नर्सरी तथा कट फ्लावर व्यवसायीहरुको समेत सहयोग रहेको आयोजकले जनाएको छ।

उक्त फ्लोरा एक्स्पो चैत ४ गतेसम्म संचालन हुनेछ।