ईकोनोमिक खबर, काठमाडौं। बाणिज्य बैंकहरुको कर्जा, पूँजी,निक्षेप अनुपात (सिसिडी रेसियो) फागुनमा ८१.०३ प्रतिशत पुगेको छ। पुसको तुलनामा माघमा केही घटेपनि फागुन सिसिडी अझ बढेको हो।
पुससम्म ८१.१९ प्रतिशत रहेको सिसिडी रेसियो माघमा केही घटेर ८०.९५ प्रतिशतमा आएको थियो। राष्ट्र बैंकको नियामकीय प्रवधानअनुसार सिसिडी ८० प्रतिशतभन्दा तल हुनुपर्छ।
विकास बैंकहरुको सिसिडी सीमाभन्दा तलै भएपनि फाइनान्सको सिसिडी ८० प्रतिशत माथि छ। विकास बैंकहरुको माघमा ८१.३८ रहेको सिसिडी फागुनमा ७५.५४ प्रतिशतमा आएको हो। फाइनान्स कम्पनीहरुको ८१.१५ प्रतिशतबाट घटेर ८०.३२ प्रतिशतमा आएको छ। बैंक तथा वित्तीय संस्थाको औषत सिसिडी ८०.५७ प्रतिशत छ।
ऋणको माग भएअनुसारको निक्षेप परिचालन हुन नसकेपनि अर्थतन्त्रको कुल आकारमा निक्षेपको हिस्सा बढ्दै गएको छ। अर्थतन्त्रको १०३.४७ प्रतिशत निक्षेप पुगेको छ। यसमा ८९.४६ प्रतिशत हिस्सा बाणिज्य बैंकहरुको छ। विकास बैंकहरुको ११.७१ र फाइनान्सको २.२९ प्रतिशत पुगेको छ।
ऋण बिस्तार पनि अर्थतन्त्रको आकारको ९२.४३ प्रतिशत छ। यसमा बाणिज्य बैंकहरुको हिस्सा ७९.७९ प्रतिशत छ भने विकास बैंकको १०.५० र फाइनान्सको २.१५ प्रतिशत छ।