ईकोनोमिक खबर, काठमाण्डौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मे १ गते उद्घाटन गरेसँगै मौलाकालिका केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
सोमबार गैडाकोट–१ मा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण केबलकारको उद्घाटन गरिएको हो । यस्तै उद्घाटन समारोमा आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताउँदै प्रचण्डले भने,’शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकालिका जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहन्छ । सरकार निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध छ।’
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मौलाकालिका केवलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । तनहूँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै उहाँले यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्ने पनि प्रधानमन्त्री दाहालले बताउनुभयो।
उद्घाटन समारोहमा मौलाकालिका केबलकारका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाइ तिब्रता दिन र विकासका काम समयमै पुरा हुने वातावरण बनाउन आग्रह गर्नु भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनु भएका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मौलाकाली केबल कार समेतले प्रस्तुत गरेको बताउनु भयो ।