काठमाण्डौ । स्वास्थ्य तजा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन काठमाण्डौमा हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चैत २८ र २९ गते ‘स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न लागेको हो।
सम्मेलनको प्रमुख उद्देश्य नेपालका विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ताहरु, जनसंख्याविद्हरु तथा नीति निर्माणकर्ताहरुलाई संम्लग्न गराई तथ्यमा आधारित नीति निर्माण गर्न बहस चलाउने रहेको छ। साथै दिन प्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका मुद्दाहरुको अन्तरविषयात्मक अनुसन्धानद्वारा सम्बोधन गर्न मार्ग निर्देशन गर्ने सम्मेलनको उदेश्य रहको छ। शिखर सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका स्वदेशी तथा विदेशी वैज्ञानिकहरुले खोजहरु प्रस्तुत गर्नेछन्।सम्मेलनमा विभिन्न ७ विधाका १३७ वटा मौखिक प्रस्तुतिकरण र ६४ वटा पोष्टर प्रस्तुतिकरण हुँदैछन्। सम्मेलनमा प्रस्तुत भएका उतकृष्ट मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरु मध्येबाट एक-एक जनालाई अवार्ड प्रदान गरिनेछ।
साथै अन्य विधाहरु स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सकहरुलाई मात्र), उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (परिषद् कर्मचारीलाई मात्र), स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगि सकेको १ जना अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट पुरस्कार बाट सम्मानित गरिनेछ।
साथै परिषद्मा वर्षभरि उत्कृष्ट काम गर्ने एक जना स्थायी कर्मचारीलाई बेस्ट प्रफर्मेन्स अवार्ड पनि प्रदान गरिनेछ।सम्मेलनलाई पारदर्शी र व्यवस्थित बनाउन एड्भाइजरी कमिटी,स्टेरीङ कमिटी, साइन्टीफीक कमिटी, अवार्ड छनोट लगाएतका कमिटी गठन गरिएको छ।