Mar 3, 2025

अर्थतन्त्रमा गतिशिलता ल्याउन निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्ने 


ईकोनोमिक खबर, काठमाडौं। 
नेपाल उद्योग परिसंघले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री ज्वालालाई आज बधाई दिदै अर्थतन्त्र सुधारका लागि सुझाव प्रस्तुत गरेको हो । 

परिसंघका कार्यवाहक अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव, निर्माण क्षेत्रमा भएको ढिलाई लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो । 

निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले निर्माण क्षेत्रलाई चलायमान बनाउन सकिए अर्थतन्त्रलाई गतिशिल बनाउन सहयोग गर्ने बताउनुभयो । निर्माण क्षेत्रमा दिईनुपर्ने भुक्तानी छिटो निकासा गराउन आग्रह गर्नुहुँदै उहाँले त्यसले बजारमा तरलता बढाउन सहयोग पुर्याउने बताउनुभयो । यस्तै न्यून मूल्यमा बोलकबोल गर्नेलाई परियोजना दिने विषयमा सुधार गर्न, धेरै परियोजनामा बजेट छर्नुभन्दा निश्चित परियोजना समयमै सक्ने गरी अगाडी बढ्नुपर्ने सुझाव परिसंघले दिएको छ । 

परिसंघसँगको भेटमा मन्त्री ज्वालाले न्यून मूल्यमा बोलकबोलको विषय विगतमा सुधार गर्न खोजिए पनि प्रभावकारी हुन नसकेको सन्दर्भमा सुधार गर्न लाग्ने बताउनुभयो । उहाँले परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको “रिबुटिङ नेप्लिज इकोनिमी” अवधारणाका लागि धन्यवाद दिनुभयो । 
मन्त्रीसँगको भेटमा उपाध्यक्ष विरेन्द्रराज पाण्डे, महानिर्देशक दिपकराज जोशी लगायत परिसंघका सदस्यहरुको उपस्थिति थियो ।