चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ शरु


ईकोनोमिक खबर, काठमाण्डौं। चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को उद्घाटनका वक्ताहरूले मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । यसका लागि सार्वजनिक निजी साझेदारीलाई थप प्रभावकारी र परिणामुखी बनाउनुपर्ने उनीहरूको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को उद्घाटनका वक्ताहरूले पूर्वाधार विकासबाटै नेपालको आर्थिक समृद्धि सम्भव रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ले देश अब शान्ति र प्रजातान्त्रीक प्रणाली मार्फत् आर्थिक समृद्धिका लागि निजी क्षेत्र महत्त्वपूर्ण साझेदार भएको बताए । राज्यले ऐन नियम विनियममा सुधार गरेर निजी क्षेत्रलाई अनुकूल वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देशले आर्थिक विकास र समृद्धि हासिल गर्न नसक्ने उनले बताए । ‘त्यहि बुझेरै हामीले संविधान बनाउँदा र राजनीतिक घोषणापत्रमा पनि यस क्षेत्रको भूमिकालाई महत्व दिएका छौँ’ प्रचण्डले भने ।
अब विश्वब्यापीकरणमा डिजिटलाईजेसन युगमा प्रवेश गरी सकेको हुनाले पूवाधार विकासमा सिमित नरहि दायारा फराकिलो पार्नुपर्नेमा जोडदिनु भयो ।
पछिल्लो समय सरकार र निजी क्षेत्रबीच हार्दिक सम्बन्ध बनेको र यसमा नेपाल उद्योग परिसंघको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । सरकारले निजी क्षेत्र र निजी क्षेत्रले सरकारलाई हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको प्रचण्डको भनाइ थियो ।

मुलुकमा लगानीको वातावरण बनाउन राज्यको दायित्व बाँकी रहेको भन्दै उनले अधुरा कामहरू अघि बढाइने बताए । निजी क्षेत्रलाई अझ विश्वासमा लिने र विदेशी लगानी वृद्धि गर्न राज्य गम्भीर हुन थप आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले यसअघिका तीन वटा नेपाल पूर्वाधार सम्मेलनको उपलब्धीहरूले परिसंघलाई थप हौसला मिलेको बताए । परिसंघले सन् २०१४ देखिको पूर्वाधार सम्मेलनले अर्थतन्त्र बलियो बनाउन पूर्वाधारको महत्त्व बुझाउने काम गरेको उनले बताए ।

स्वदेसी विदेशी संघ संस्थाका प्रतिनिधि लगायतका उपस्थिति रहेको थियो । यो सम्मेलन ८ र ९ सेप्टेम्बर सम्म होटल सोल्टिमा हुनेछ ।