नेप्सेमा अनलाईन गडबड तर कारोबार माथि उक्ल्यो


ईकोनोमिक खबर, काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा सिस्टममा भएको फ्रवदलका बावजुद पनि आइतबार नेप्से परिसूचक माथि उक्ल्यो।

नेप्सेमा अनलाईन कारोबारमा आइतबार १२ः०० बजेदेखि नै केही ब्रोकरका अर्डर नजाने र केही ब्रोकरको अर्डर दोहोरिने समस्या भएपछि उक्त समस्या समाधानका लागि ३ः१५ बजेसम्मका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पुन ५ः१५ बजेसम्म खुलेको बजारमा नेप्से परिसूचक १४६२.६७ को बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स भने ०.८० अङ्कले ओरालो लागेर २९६.२९ मा सीमित भएको छ । समग्रमा नेप्से ०.३२ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.२७ प्रतिशतले ओरालो लागेको छ।

साताको पहिलो दिन १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर किनबेच हुँदा कुल एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार तीन सय रुपियाँको कारोबार भएको छ।

कारोबारमा आएका १२ समूहमध्ये बैङ्किङ, विकास बैङ्क, म्युचुअल फन्डबाहेक अन्य उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहका परिसूचक ९४.३ अङ्कले उकालो लागेको छ । त्यस्तै जीवन बीमा समूह ४६.३२ अङ्कले उकालो लागेको छ ।
सबैभन्दा बढी कारोबार गर्नेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ३४ करोड ३२ लाख रुपियाँको कारोबार हुँदा अन्तिम सेयर मूल्य ७७० रुपियाँ कायम हुन पुगेको छ । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैङ्कको ११ करोड ८४ लाख रुपियाँभन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४०५ रुपियाँ कायम भएको छ । नेको इन्स्योरेन्स र शिवम् सिमेन्ट पनि उच्च कारोबार गर्नेमा परेका छन् । आइतबारको कारोबारबाट पुनर्बीमा कम्पनीकोे सेयरमा सकारात्मक सर्किट लागेको छ।