अनलाइन माध्यमबाट सेवा दिन नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको निर्देशन


ईकोनोमिक खबर, काठमाडौं।
नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरु तथा मर्चेन्ट बैंकरहरुलाई अनलाइन माध्यमबाट सेवा दिन निर्देशन दिएका हुन्।
उपत्यका र देशको मुख्य शहरहरुमा कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा पुँजी बजारमा विद्युतीय कारोबारलाई प्राथमिकता दिन नियामक निकायहरुले निर्देशन दिएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम शाखा खोली न्यूनतम कर्मचारीबाट आधारभूत वित्तीय सेवा प्रदान गर्न, निश्चित समयको लागि आलोपालो मिलाई आधारभूत बैकिङ कारोबार गर्न निर्देशन दिंदै राष्ट्र बैंकले डिजिटल बैङ्किङलाई बढी प्राथामिकता दिन आग्रह गरेको छ ।
एटीएम मेसिनहरुमा पर्याप्त नगद राख्ने र सोको निगरानी गर्न पनि राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । निषेधाज्ञाको बेलामा अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट प्रतीतपत्र, ग्यारेन्टी जस्ता सञ्चालन गर्न निर्देशन दिंदै राष्ट्र बैंकले खुल्ने शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोननम्बर वेबसाइटमा राख्न भनेको छ ।
त्यस्तै, धितोपत्र बोर्डले जोखिम कम गर्न सरकारको निर्णय अनुसार मर्चेन्ट बैंकरको रुपमा काम गर्दै आएका सबैलाई अनलाइनबाट सेवा दिन निर्देशन दिएको छ ।
हाल ग्राहकलाई प्रदान गर्दै आएको सेवाहरु सम्भव भएसम्म अनलाइन, भर्चुअल तथा विद्युतीय माध्यमबाट मात्र सेवा प्रदान गर्न व्यवस्था मिलाउन बोर्डको निर्देशन छ ।
भौतिक रुपमा नै उपस्थित भई अत्यावश्यक सेवा लिनुपर्ने अवस्थामा ग्राहकहरुले सम्बन्धित कम्पनीको फोन नम्बर, इमेल वेबसाइट वा अन्य विद्युतीय माध्यमबाट सम्पर्क गर्न बोर्डको आग्रह छ ।

यसैबीच बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा एक दिन बिराएर सेवा दिन थालेका छन् ।
जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बुधबारबाट अर्कोको सूचना जारी नभएसम्मका लागि एक दिन बिराएर सेवा दिने आग्रह गरेको छ ।
वित्तीय संस्थाले आइतबार, मङ्गलबार र बिहीबार सेवा दिने भएका छन् ।