ईकोनोमिक खबर, काठमाडौं।
जल तथा मौसम विज्ञान विभागले नेपालका विभिन्न भागमा मौसममा बदली भए पनि अधिकांश भूभागमा ठूलो वर्षा नहुने जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फ रहेकोे र भारतको मध्यप्रदेशका बनेको न्यूनचापीय क्षेत्रको प्रभाव देशभर पर्ने विभागले जनाएको छ । दिउँसो सामान्य खालको वर्षा हुने विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो।
विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश नं ३, ४, ५ र ६ प्रदेश तथा आसपासका भू–भागका एक दुई स्थानहरूमा भारी वर्षा हुने जनाएको छ।
मङ्गलबार दिउँसो देखि साँझसम्म सामान्यतया बदली रही केही स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने वरिष्ठ मौसमविद् पौडेलले बताउनुभयो । उहाँका अनुसार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । मङ्गलबार समेत बागमती प्रदेशको केही भाग र गण्डकी प्रदेशको केही भागमा बिहानदेखि नै वर्षा भएको मौसमविद् पौडेलले बताउनुभयो।
देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन उहाँले सबैलाई अनुरोध गर्नुभएको छ । मनसुन अझै नसकिएकाले बदली रहने पौडेलले बताउनुभयो ।