सुनको मूल्य वृद्धि भएसँगै सुनको खपतमा भने ह्वात्तै घट्यो


ईकोनोमिक खबर, काठमाडौं।
निरन्तर आकासिदै आएको सुनको मूल्य बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगी केहि कममा आज कारोबार भएको छ। पछिल्लो समयमा नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५३२।७५ अमेरिकी डलर पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो। चीन–अमेरिका व्यापार टकराव,कच्चा तेलमा भएको उतारचढाव, इरान–अमेरिका विवादले पनि सुनको मुल्य उच्चहुनुमा यी तत्वहरुको अप्रत्यक्ष सहयोग रहेको बताइन्छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत श्रावणको शुरुआत देखि नै सुनको मूल्य उकालो लाग्न थालेको हो। गत साउन महीनामा उकालो लाग्न शरु गरेको सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले वृद्धि भएको थियो। भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ। भदौमा छापावला र तेजाबी सुन प्रतितोला रु २५०० ले वृद्धि भएको छ।

श्रावण पहिलो हप्तामा छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ मा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५००, तेजाबी सुन रु ७१ हजार २०० तथा चाँदी प्रतितोला रु ८४० मा कारोबार भएको महासङ्घले जनाएको छ।

आज छापावाला सुनको मूल्यमा प्रतितोला रु ७२,६०० कायम भएको छ। हिजो छापावाला सुन प्रतितोला रु ७३ हजार ५०० मा कारोवार भएको थियो । आइतबार सुन प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको थियो । यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारका दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुन प्रतितोला रु ७२ हजार २०० मा कारोवार भएको थियो।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ। दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुश्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ। अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ।