पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौँ। एनएमबि बैङ्कले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड) सँगको सहकार्यमा पोखरामा पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य साना तथा मझौला उद्यम (एसएमई) र पर्यटन क्षेत्रका व्यवसायलाई प्रोत्साहित गर्दै उनीहरूको व्यवसाय वृद्धि र दिगोपन सुनिश्चित गर्नु थियो।

कार्यक्रममा एनएमबि क्युआर लोन सेवाको जानकारी दिइँदै डिजिटल भुक्तानी प्रणालीको प्रयोगले व्यवसायलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरियो। डिजिटल भुक्तानी प्रणालीको महत्त्व, व्यावसायिक वृद्धि र दिगोपनका लागि आवश्यक मार्केटिङ प्रविधिहरू, उद्यमीहरूका लागि उपलब्ध विभिन्न वित्तीय सेवाहरूमा व्यवसायीहरूको उल्लेखेनिय सहभागिता थियो।

कार्यक्रममा पोखराका विभिन्न उद्योग र व्यवसायबाट ८० भन्दा बढी उद्यमीहरू सहभागी भए। उनीहरूले छलफल र प्रशिक्षणमा सक्रिय रूपमा भाग लिँदै डिजिटल वित्तीय व्यवस्थापनका नयाँ आयामहरूबारे जानकारी लिए।

एनएमबि बैङ्कले आगामी दिनमा यस्ता चेतनामूलक कार्यक्रम अन्य प्रदेशहरूमा पनि सञ्चालन गर्दै व्यवसायीहरूलाई डिजिटल वित्तीय उपकरणप्रति सशक्त बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएको छ। बैङ्कले डिजिटल युगसँग मेल खाने सेवाहरू मार्फत व्यवसायीहरूलाई सशक्त बनाउने प्रयास गरिरहेको छ।