काठमाडौं । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पु-याउन इन्टरनेशनल बेलुन महोत्सव गरिने भएको छ ।
यही डिसेम्बर २४ देखि आयोजना गरिने बलुन महोत्सवको प्रायोजन चिनियाँ विद्युतीय सवारी बीवाइडीले गर्ने भएको छ ।
नेपालको साहसिक पर्यटनका लागि कोशेढुंगा बनाउने उद्धेश्यसाथ महोत्सव आयोजना गर्न लागिएको आयोजक बेलुन नेपाल प्रालिले जनाएको छ ।
नौ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुनहरू पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशमा उड्नेछन् ।
महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने आयोजकको दाबी छ ।
महोत्सवमा अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुने बताइएको छ ।
४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खला सहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने जनाइएको छ ।
नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले महोत्सवको व्यवस्थापन गरेको छ ।