किन्डर ओलम्पिकको तयारी


अर्ली चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (इसीइटीए) को आयोजनामा १२ औं किन्डर ओलम्पिक शनिबारदेखि हुने भएको छ ।
विभिन्न ३८ विद्यालयका ३ देखि ६ वर्षसम्मका १ हजार ८ सय भन्दा बढी बालबालिकाको सहभागितामा हुने कार्यक्रम तीन चरणमा हुने आयोजकका सल्लाहकार केदारमान स्थापितले जनाएका छन् ।

विभिन्न खेल समावेश गरिने किन्डर ओलम्पिकको पहिलो कार्यक्रम मंसिर २२ गते हुनेछ ।

दोश्रो पुस १० र तेश्रो माघ २७ गते हुनेछ । तीनै चरणको कार्यक्रम लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ ।

सहभागीले तेक्वान्दो, उसु, कराते, जिन्याष्टिक लगायतका खेलको प्रदर्शनी खेल प्रस्तुत गर्ने छन् । ‘जित्नु भन्दा सहभागिता महत्पूर्ण छ’ भन्ने उद्देश्यसाथ आयोजना गरिएको किन्डर ओलम्पिकमा सहभागी सबैलाई पदक प्रदान गरिने छ ।
सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उदेश्यले किन्डर ओलम्पिकको सुरुआत गरिएको आयोजकले जनाएको छ ।
विभिन्न विद्यालयमा कार्यरत शिक्षिकाहरु मिलेर वि सं २०६८ सालमा स्थापना गरिएको इसीइटीए नाफारहित गैर सरकारी संस्था हो । यो संस्थाले मूलतः बालबालिकाहरुको चौतर्फी विकासमा मदत गर्ने क्षेत्रमा काम गर्छ ।