काठमाडौं । तिहार पर्वलाई लक्षित गर्दै स्वदेशी फूल, वनस्पति तथा नर्सरीजन्य उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले ‘तिहार फ्लोरा एक्स्पो–२०८३’ आयोजना हुने भएको छ। नर्सरी व्यवसायी संघ नेपाल (न्यान) को आयोजनामा कात्तिक १७ गतेदेखि २१ गतेसम्म पाँच दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो सञ्चालन हुने भएको हो।
‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ भन्ने नारासहित आयोजना हुन लागेको एक्स्पोको उद्देश्य तिहारमा प्रयोग हुने फूल तथा नर्सरीजन्य वस्तुको अत्यधिक आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।
संघका अनुसार गत वर्ष आयोजना गरिएको तेस्रो तिहार फ्लोरा एक्स्पो सफल भएपछि यस वर्ष चौथो संस्करण अझ व्यापक रूपमा आयोजना गर्न लागिएको हो। एक्स्पोले नर्सरी व्यवसायीलाई उत्साहित गर्नुका साथै कृषि तथा वन क्षेत्रका उत्पादनको उत्पादन, बजारीकरण र प्रचारप्रसारमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने विश्वास आयोजकको छ।
७३ वटा स्टल, ३५ हजार दर्शक आउने अपेक्षा
एक्स्पोमा व्यावसायिक तथा आधिकारिक गरी जम्मा ७३ वटा स्टल रहनेछन्। तीमध्ये ६३ वटा व्यावसायिक स्टल, वनस्पति विभाग र पुष्प विकास केन्द्रसहितका आधिकारिक ६ वटा तथा प्रतियोगिताका ४ वटा स्टल रहने जनाइएको छ।
मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक वनस्पति, फलफूल, कृषि तथा वन, जडीबुटी र नर्सरीजन्य उत्पादनबाट उत्पादित बिरुवाहरू प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन्। साथै मलखाद, आधुनिक तथा रासायनिक विषादी, बिउबिजन, औजार–उपकरण र प्रविधिसम्बन्धी स्टलसमेत रहनेछन्।
आयोजकले एक्स्पोमा करिब ३५ हजार अवलोकनकर्ता आउने तथा एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ। सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ५० रुपैयाँ प्रवेश शुल्क रहनेछ।
स्वदेशी उत्पादन र हरित अर्थतन्त्रमा जोड
नर्सरी व्यवसायी संघ नेपालले नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनसँगै वातावरणमैत्री आय र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउँदै आएको जनाएको छ। देशभर छरिएर रहेका नर्सरी, पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरी व्यवसायीको हित र व्यावसायिक क्षमता अभिवृद्धिका लागि संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संघका अनुसार नर्सरी व्यवस्थापन केवल बिरुवा उत्पादन र बिक्रीमा मात्र सीमित छैन। यससँग वनस्पति तथा बिउबिजनको व्यवस्थापन, स्वदेशी र मौलिक वनस्पतिको संरक्षण, जैविक विविधताको संरक्षण, जातीय गुण तथा विशेषताको पुनर्स्थापना र परम्परागत ज्ञानको संरक्षणसमेत जोडिएको छ।
एक्स्पोमा व्यवसायीको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराइनेछ। उत्कृष्ट व्यवसायीलाई शिल्ड, नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको मूल्याङ्कनका लागि कृषि, बागवानी तथा वनस्पति विज्ञलगायतको सहभागितामा तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ।
राजनीतिक अस्थिरताबीच उद्यमीको मनोबल बढाउनुपर्ने
आयोजकले देशमा बढ्दो राजनीतिक अस्थिरताले सिर्जना गरेको असहज परिस्थितिका कारण उद्यमी तथा व्यवसायीको मनोबल कमजोर भएको उल्लेख गर्दै व्यवसायमैत्री वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने जनाएको छ।
यस्तो वातावरणले जनशक्ति पलायन, लगानी असुरक्षा र लगानी वृद्धिमा समस्या उत्पन्न हुने जोखिम रहेको भन्दै संघले नेपाल सरकार, राजनीतिक दल तथा नयाँ पुस्ताले यस विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएको छ।
नर्सरी व्यवसायी संघ नेपालले यस वर्षको तिहार फ्लोरा एक्स्पोको प्रवर्द्धक संस्थाका रूपमा वनस्पति विभाग र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड रहेको जनाएको छ।
सह–आयोजकमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कृषि विभाग, पुष्प विकास केन्द्र, राष्ट्रिय फलफूल विकास केन्द्रलगायत रहेका छन्। विशेष सहयोगी संस्थामा सेवा ग्रिनफार्म एग्रोप्रोडक्ट्स, गिरिमा नर्सरी, उदय गार्डेन, एमरेस्ट फ्लोरीकल्चर, कुमारी एग्रो र फ्लोरीकल्चर सहकारीलगायत रहेका छन्।
मेलामा सहभागिता जनाउन र नर्सरीजन्य स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग गर्न आयोजकले सर्वसाधारण तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ।
नर्सरी व्यवसायी संघ नेपालका मेला संयोजक तथा उपाध्यक्ष लक्ष्मी महर्जनले तिहारको अवसरमा आयोजना हुने एक्स्पोले स्वदेशी फूल तथा नर्सरीजन्य उत्पादनको बजार विस्तारसँगै हरित अर्थतन्त्रमा संलग्न उद्यमीलाई समेत प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेका छन्।