सल्यान। बागचौर नगरपालिका–२, थारमारेमा प्रथम बागचौर फुटबल गोल्ड कप २०८३ आयोजना हुने भएको छ। खरीबोट रोयल्स क्लबको आयोजनामा आगामी कात्तिक १५ गतेदेखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिता जनकल्याण नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीले नगद रु. १ लाख ११ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ५५ हजार ५ सय ५५ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही रु. ३ हजार पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले कात्तिक १४ गते बेलुकासम्म दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा पालिका तथा जिल्लाबाहिरका टोलीसमेत सहभागी हुन सक्नेछन्।
गाउँमै खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान र स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिता सराहनीय प्रयास हो। स्थानीय युवाहरूको सक्रियता र पहलमा हुन लागेको यस प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।