काठमाडौं । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ। यस प्रस्तावलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको संख्या १४ पुग्नेछ।
विश्व पर्वतारोहण तथा आरोहण महासंघ (UIAA) को सन् २०२६ को साधारणसभाका अवसरमा नेपाल सरकारले नेपाल पर्वतारोहण संघमार्फत उक्त प्रस्ताव अघि सारेको हो। काठमाडौंमा आजदेखि सुरु भएको साधारणसभामा विश्वका विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी छन्।
नेपालले छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) रहेका छन्।
यी हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै विश्व पर्वतारोहणको नक्सामा नेपालको उपस्थिति अझ सुदृढ हुनेछ। यसले नयाँ पर्वतारोहण गन्तव्यको पहिचान, आरोहण गतिविधिको विस्तार र साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपालले यसअघि सन् १९८२ र २०११ मा विश्व पर्वतारोहण तथा आरोहण महासंघको साधारणसभा आयोजना गरेको थियो। यससँगै नेपालले तेस्रोपटक उक्त अन्तर्राष्ट्रिय साधारणसभाको आयोजना गरेको हो।