नेपालमा स्याकम्यानका दुई इलेक्ट्रिक हेभी ट्रक सार्वजनिक


काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा नेपालमा दुई नयाँ विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन सार्वजनिक गरेको छ।

कम्पनीले स्याकम्यान एक्स ५०००ई इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान एक्स ५०००ई इलेक्ट्रिक टिपर सार्वजनिक गर्दै विद्युतीय हेभी कमर्सियल सवारीसाधन बजारमा आफ्नो प्रवेश घोषणा गरेको हो।

स्याकम्यान एक्स ५०००ई इलेक्ट्रिक प्राइम मुभरलाई भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि लक्षित गरिएको छ। व्यावसायिक ढुवानी क्षेत्रमा उच्च भार, लामो दूरी र निरन्तर सञ्चालनका चुनौतीलाई ध्यानमा राखेर यसको डिजाइन गरिएको कम्पनीको भनाइ छ।

त्यस्तै, एक्स ५०००ई इलेक्ट्रिक टिपर निर्माण, खानी तथा अन्य कठिन अफ–रोड क्षेत्रमा प्रयोगका लागि तयार गरिएको छ। निर्माण तथा पूर्वाधार विकासका क्षेत्रमा बढ्दो विद्युतीय व्यावसायिक सवारीसाधनको मागलाई लक्षित गर्दै टिपर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सका अनुसार नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग यात्रुवाहक तथा हलुका व्यावसायिक सवारीमा मात्र सीमित नरही अब हेभी–ड्युटी सेग्मेन्टतर्फ पनि विस्तार भइरहेको छ। यही बजार सम्भावनालाई लक्षित गर्दै स्याकम्यानका विद्युतीय हेभी ट्रक नेपाल ल्याइएको हो।

स्याकम्यानका यी मोडलले परम्परागत डिजेलबाट चल्ने हेभी व्यावसायिक सवारीको विकल्पका रूपमा विद्युतीय प्रविधिलाई अघि बढाउने अपेक्षा गरिएको छ। विशेषगरी इन्धन खर्च, सञ्चालन लागत र वातावरणीय प्रभाव घटाउने उद्देश्यले विद्युतीय हेभी सवारीतर्फ व्यवसायीको चासो बढ्दै गएको अवस्थामा नयाँ मोडलले बजारमा प्रतिस्पर्धा थप्ने देखिन्छ।

प्राइम मुभर लामो दूरीको भारी ढुवानीमा केन्द्रित भएकाले ट्रक तथा ट्रेलरमार्फत हुने व्यावसायिक यातायातका लागि लक्षित छ भने इलेक्ट्रिक टिपर निर्माण सामग्री ढुवानी, खानी तथा कठिन भूगोलमा हुने कामका लागि लक्षित गरिएको छ।

जगदम्बा मोटर्सले स्याकम्यानका यी विद्युतीय हेभी सवारीमार्फत नेपालमा व्यावसायिक विद्युतीय यातायातको नयाँ खण्ड विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ। नेपालमा सडक निर्माण, जलविद्युत्, खानी तथा पूर्वाधार विकासका गतिविधि बढिरहेका बेला हेभी इलेक्ट्रिक कमर्सियल सवारीको बजार विस्तार हुने सम्भावनालाई कम्पनीले प्राथमिकतामा राखेको छ।