बाढीपीडितका लागि नाडाको राहत सामग्री नुवाकोट हस्तान्तरण


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले रसुवा र नुवाकोटमा गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि उपलब्ध गराएको राहत सामग्री नुवाकोटमा हस्तान्तरण गरेको छ।

नाडाले २०८३ भदौ १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि विभिन्न प्रकारका राहत सामग्री उपलब्ध गराएको थियो। उक्त सामग्री २०८३ असोज ३ गते नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समिति नुवाकोटको कार्यालयमा औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

यसैगरी, बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि नाडाले थप आर्थिक सहयोगसमेत गरेको छ। २०८३ भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको जनाएको छ।

नाडाले विगतदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद्का समयमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। पछिल्लो बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा समेत संस्थाले आफ्नो तर्फबाट सहयोगलाई निरन्तरता दिएको हो।