बाढीबाट अठार सय छ हेक्टर खेतीयोग्य जमिनमा क्षति, दुई लाख ५२ हजारभन्दा बढी पशुपन्छी प्रभावित
Economic Khabar
३ आश्विन २०८३, शनिबार १६:२४
काठमाडौँ । बाढी प्रभावित जिल्लामा गरिएको संयुक्त क्षति मूल्याङ्कनले कृषि तथा पशुपन्छी क्षेत्रमा ठूलो असर परेको देखाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत प्रभावित जिल्लामा गरिएको मूल्याङ्कनअनुसार १ हजार ८०६ हेक्टर धान तथा तरकारी खेतीयोग्य जमिनमा क्षति पुगेको छ।
त्यस्तै, बाढीबाट २ लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएको पाइएको छ।
विपद्पछिको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि क्षतिको वास्तविक अवस्था पहिचान आवश्यक हुने भएकाले संयुक्त मूल्याङ्कन गरिएको हो।
क्षतिको दायरा र प्रभावित क्षेत्र पहिचानका आधारमा पुनःस्थापना तथा पुनर्निर्माणका योजना तयार गर्न संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) नेपालले नेपाल सरकारसँग सहकार्य गर्दै प्राविधिक सहयोग उपलब्ध गराइरहेको जनाएको छ।
बाढीबाट कृषि उत्पादनका लागि प्रयोग हुँदै आएको जमिनमा क्षति पुग्नुका साथै पशुपन्छी प्रभावित हुँदा प्रभावित किसानको आयआर्जन र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने देखिएको छ। त्यसैले पुनःस्थापनामा क्षतिग्रस्त कृषि भूमि पुनःउपयोग, पशुपन्छी क्षेत्रको पुनरुत्थान र प्रभावित किसानको जीविकोपार्जनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।
FAO को प्राविधिक सहयोगले क्षतिको तथ्यमा आधारित पुनःस्थापना योजना बनाउन तथा प्रभावित कृषि तथा पशुपन्छी क्षेत्रलाई क्रमशः सामान्य अवस्थामा फर्काउन सरकारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।