विद्युतीय कार कति सुरक्षित ? भरतपुरमा आगलागी हुँदा एक जनाको मृत्यु


चितवन। विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला यस्ता सवारी आगलागीका दृष्टिले कति सुरक्षित छन्? भन्ने प्रश्न उठेको छ। भरतपुरमा विद्युतीय कारमा अचानक आगलागी हुँदा कारभित्रै एक जनाको जलेर मृत्यु भएपछि विद्युतीय सवारीको सुरक्षा र आपत्कालीन उद्धार प्रणालीमाथि गम्भीर प्रश्न उठेको हो।

भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा आज बिहान करिब ६ बजे बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा

आगलागी भएको थियो। पूर्वबाट पश्चिमतर्फ गइरहेको कारमा अचानक आगो लागेको सूचना पाएपछि प्रहरी टोली दमकलसहित घटनास्थल पुगेको थियो।

आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए। मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीबाट कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

घटनाले विद्युतीय सवारीमा आगलागी हुँदा यात्रुको तत्काल उद्धार, आगो नियन्त्रण र जोखिम व्यवस्थापन कति प्रभावकारी छ भन्ने प्रश्नसमेत उठाएको छ। विशेषगरी आगलागीको कारण, कारको विद्युतीय प्रणाली तथा ब्याट्रीको अवस्था र घटनाका क्रममा यात्रुले उद्धारको अवसर पाए–नपाएको विषय अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ।

यद्यपि, प्रहरीले अहिलेसम्म आगलागीको कारण सार्वजनिक गरेको छैन। ब्याट्रीमा आएको समस्या, विद्युतीय प्रणालीको खराबी, दुर्घटना वा अन्य कुनै कारणबाट आगलागी भएको हो भन्ने विषय अनुसन्धानपछि मात्रै खुल्नेछ।

नेपालमा विद्युतीय सवारीको प्रयोग बढेसँगै यस्ता सवारीमा सम्भावित आगलागी नियन्त्रण गर्न दमकल तथा उद्धार टोलीको प्राविधिक तयारी, आवश्यक उपकरण र जनशक्तिको दक्षता पनि उत्तिकै महत्वपूर्ण देखिन्छ। भरतपुरको घटनाले विद्युतीय सवारीको विस्तारसँगै त्यसको सुरक्षा मापदण्ड र आपत्कालीन उद्धार क्षमतामाथि समेत गम्भीर बहस आवश्यक रहेको संकेत गरेको छ।

प्रहरीले मृतकको पहिचान तथा आगलागीको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जनाएको छ।