काठमाडौं। चाबहिल क्षेत्रका शैक्षिक व्यवसायीहरू संस्थागत रूपमा एकजुट भएका छन्।
करिब एक वर्षको निरन्तर प्रयास, छलफल र सहकार्यपछि क्षेत्रका शैक्षिक परामर्शदाता, ट्युसन सेन्टर तथा अन्य शैक्षिक सेवासँग सम्बन्धित संस्थाहरूलाई एउटै साझा मञ्चमा समेट्ने उद्देश्यले चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघ (Chabahil Educational Consultancy and Teaching Association–CECTA) गठन गरिएको हो।
संघले शैक्षिक व्यवसायीहरूको व्यावसायिक हित संरक्षण, आपसी सहकार्य र एकता प्रवर्द्धनसँगै शैक्षिक क्षेत्रमा व्यावसायिक मर्यादा कायम गर्न पहल गर्ने जनाएको छ।
संघको संस्थापक अध्यक्षमा सुदीपराज पुरी चयन हुनुभएको छ। त्यस्तै, प्रथम उपाध्यक्षमा ईश्वर काफ्ले, महासचिवमा प्रेम तामाङ र कोषाध्यक्षमा विज्ञान दाहाल चयन हुनुभएको छ।
विविध विचार, छलफल र योजनामाथि लामो समयसम्म मन्थन गरेपछि संघले औपचारिक तथा संस्थागत स्वरूप पाएको बताइएको छ। चाबहिल क्षेत्रका विभिन्न प्रकृतिका शैक्षिक संस्थाहरूको हकहित संरक्षण तथा व्यावसायिक क्षेत्रमा देखिएका साझा समस्या समाधानका लागि संघले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
संघले शैक्षिक व्यवसायीबीच आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउँदै सबै संस्थालाई समेटेर समावेशी ढङ्गले अघि बढ्ने जनाएको छ।
संघको संस्थापक कार्यसमिति चयनसँगै एक वर्ष लामो अभियानमा साथ, सुझाव र योगदान पुर्याउने सम्पूर्ण शैक्षिक व्यवसायीप्रति आभार व्यक्त गरिएको छ। नयाँ कार्यसमितिलाई आगामी कार्यकालको सफलताको शुभकामना समेत दिइएको छ।