मुग्लिन सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा दबाब, निगमले उपत्यकामा २५ हजार ५०० सिलिन्डर ल्यायो


उद्धार हेलिकोप्टरका लागि १ लाख २ हजार लिटर हवाई इन्धन, प्रभावित क्षेत्रमा पेट्रोल–डिजेल आपूर्ति पनि जारी

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन खण्डमा सडक भासिएपछि पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा समस्या देखिए पनि नेपाल आयल निगमले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति सहज बनाउने प्रयास गरेको जनाएको छ।

निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा मुग्लिन सडक अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ ढुवानीमा समस्या आएपछि ग्यास उद्योगसँग समन्वय गरी वैकल्पिक मार्गबाट ग्यास सिलिन्डर उपत्यका भित्र्याउने व्यवस्था मिलाइएको जनाएको छ।

निगमका अनुसार आज मात्र उपत्यकाका लागि विभिन्न ठाउँबाट करिब २५ हजार ५०० ग्यास सिलिन्डर ल्याउने व्यवस्था मिलाइएको छ। भोलिदेखि ग्यास आपूर्तिलाई थप नियमित र पर्याप्त बनाउने तयारीसमेत गरिएको निगमले जनाएको छ।

यसैबीच, खोज तथा उद्धार कार्यमा परिचालित हेलिकोप्टरका लागि आवश्यक हवाई इन्धन आपूर्तिलाई प्राथमिकतामा राखिएको छ। नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हवाई इन्धन रिफिलिङका लागि १ लाख २ हजार लिटर इन्धन पठाइएको निगमले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत सञ्चालनमा रहेका पेट्रोल पम्पहरूलाई हालसम्म १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजेल उपलब्ध गराइएको छ। मागअनुसार आगामी दिनमा पनि पेट्रोलियम पदार्थको बिक्री तथा वितरणलाई निरन्तरता दिइने निगमले जनाएको छ।

खोज तथा उद्धार कार्यलाई सहज बनाउन प्रभावित क्षेत्रमा रहेका विभिन्न संस्थालाई आवश्यक पर्ने एलपी ग्यासको व्यवस्थासमेत मिलाइएको निगमले जनाएको छ। नेपाल एलपी ग्यास उद्योग संघसँगको समन्वयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसअनुसार रसुवा र नुवाकोट क्षेत्रमा ग्यास सिलिन्डर पठाउने व्यवस्था गरिएको छ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा प्रभावित क्षेत्रको दैनिक आपूर्तिलाई निरन्तरता दिन नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यास आपूर्तिमा विशेष व्यवस्था गरेको जनाएको छ।