आफन्त खोज्दै आउने परिवारको पीडा उस्तै, प्रशासन भन्छ– ‘शव गाडिएका होइनन्, सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो’
चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका मानिसका शव त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म आइपुग्ने क्रम अझै रोकिएको छैन। नदी किनारमा एकपछि अर्को शव फेला पर्न थालेपछि चितवनमा अहिले शव पहिचान र व्यवस्थापन आफैंमा ठूलो चुनौती बनेको छ।
शवको संख्या अत्यधिक बढेपछि पहिचान हुन नसकेका शवलाई लामो समयसम्म सुरक्षित राख्न कठिनाइ भएको प्रशासनले जनाएको छ। त्यसपछि डीएनए नमुना संकलन गरी आवश्यक विवरण अभिलेखमा राखेर शवलाई जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार रातिसम्म २८० वटा सनाखत हुन नसकेका शव भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जंगल क्षेत्रमा खाडल खनी व्यवस्थापन गरिएको छ।
चितवनका विभिन्न क्षेत्रमा हालसम्म ३२१ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए। तीमध्ये १२ वटा शवको सनाखत भइसकेको छ भने अधिकांशको पहिचान अझै खुल्न सकेको छैन।
तीन दिनमा २८० शव व्यवस्थापन
अत्यधिक संख्यामा शव संकलन भएपछि व्यवस्थापनमा समस्या देखिएसँगै शनिबारदेखि नयाँ प्रक्रिया अपनाइएको हो।
प्रहरीका अनुसार शनिबार ९६, आइतबार १०३ र सोमबार ८१ वटा शव देवघाटको जंगल क्षेत्रमा व्यवस्थापन गरिएको छ।
जमिनमुनि व्यवस्थापन गरिएका शवमध्ये १०१ वटा शवको लिङ्गसमेत पहिचान हुन नसकेको, १०३ वटा पुरुष, ६४ वटा महिला, ६ वटा बालिका र ६ वटा बालकका शव रहेका छन्।
शव व्यवस्थापनअघि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी डीएनए नमुना संकलन र सुरक्षित राखेको जनाएको छ। सनाखत भएका शव भने पोस्टमार्टम लगायत प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइएको छ।
‘शव पहिचान गर्यौँ, तर लैजान पाएनौँ’
तर प्रशासनको प्रक्रियाले पीडित परिवारको पीडा भने थप जटिल बनाएको देखिन्छ।
आफन्तको शव पहिचान गरिसकेपछि पनि शव जमिनमुनि व्यवस्थापन भइसकेकाले तत्काल घर लैजान नपाएको केही परिवारले गुनासो गरेका छन्।
कोहलपुरबाट आएका दिप्रका थारूले आफूहरूले आफन्तको शव पहिचान गरे पनि गाडिसकिएको अवस्थामा डीएनए परीक्षणबिना लैजान नपाएको बताए।
‘हाम्रो शव हामीले पहिचान गरेका छौँ,’ थारूले भने, ‘तर शव गाडिसकिएको अवस्थामा डीएनए परीक्षण नगरी लैजान नपाएका हौँ।’
यस्तै, अन्य केही आफन्तले पनि आफूहरूले शव पहिचान गरे पनि प्रशासनिक प्रक्रियाका कारण शव नलिई फर्किनुपरेको बताएका छन्।
प्रशासन : ‘गाडिएको होइन, सुरक्षित व्यवस्थापन गरिएको हो’
प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले भने शवलाई अन्त्येष्टि नगरिएको स्पष्ट पारेका छन्। उनका अनुसार भविष्यमा पहिचान खुलेमा आफन्तलाई शव उपलब्ध गराउन सकिने गरी कानुनी प्रक्रिया पूरा गरेर व्यवस्थापन गरिएको हो।
‘हामीले शवलाई अन्त्येष्टि गरेका होइनौँ, व्यवस्थापन गरेका हौँ,’ अर्यालले भने, ‘मृतकको डीएनए नमुना संकलन गरेर सुरक्षित राखेका छौँ। डीएनए परीक्षणबाट आफन्तसँग मेल खाएपछि राखिएको स्थानबाट शव उपलब्ध गराउन सकिन्छ।’
उनका अनुसार प्रत्येक शवको विवरण र व्यवस्थापन गरिएको स्थानको संकेतसमेत राखिएको छ।
अस्थायी शव संकलन केन्द्र पनि बन्द
शवको संख्या बढ्दै गएपछि चितवनमा निर्माण गरिएको अस्थायी शव संकलन केन्द्रसमेत सोमबारदेखि बन्द गरिएको छ।
प्रशासनका अनुसार ठूलो संख्यामा शव निरन्तर फेला पर्न थालेपछि अस्थायी केन्द्रमा लामो समयसम्म राखेर व्यवस्थापन गर्न सम्भव नभएको हो।
प्रजिअ अर्यालले भने, ‘हामीले निर्माण गरेको अस्थायी शव संकलन केन्द्र आजबाट बन्द गरेका छौँ। अब भेटिएका शवको डीएनए नमुना संकलन गरी जमिनमुनि नै व्यवस्थापन गर्छौँ।’
नदीले ल्याइरहेको छ शव, आफन्त खोज्दै आइरहेका छन् परिवार
सोमबार मात्रै चितवनका विभिन्न नदी तथा नदी किनारमा ४९ वटा शव फेला परेको प्रहरीले जनाएको छ।
हालसम्म फेला परेका ३२१ शवमध्ये १२६ वटा पहिचान नखुलेका, ११६ पुरुष, ६६ महिला, ७ बालक र ६ बालिकाका शव रहेको प्रहरीको विवरण छ।
भोटेकोशी बाढीपछि त्रिशूली हुँदै नारायणी नदीसम्म ठूलो संख्यामा शव तथा मानव अवशेष बगेर आउन थालेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोजी, उद्धार तथा शव व्यवस्थापनमा परिचालित छन्।
नदी किनार, जंगल र आसपासका क्षेत्रमा खोजी जारी रहेकाले आगामी दिनमा पनि थप शव फेला पर्न सक्ने प्रशासनको अनुमान छ।
यता बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा परिवारहरू चितवनसम्म आइपुगिरहेका छन्। अस्पताल, शव संकलनस्थल र नदी किनारमा आफन्तको अनुहार खोजिरहेका परिवारका लागि प्रत्येक फेला परेको शव आशा र त्रास दुवै बनेको छ।
प्रशासनले भने पहिचान खुल्न नसकेका शवको डीएनए नमुना, विवरण र व्यवस्थापन गरिएको स्थानको अभिलेख सुरक्षित राखिएकाले भविष्यमा सनाखत भएमा सम्बन्धित परिवारलाई कानुनी प्रक्रिया पूरा गरी शव उपलब्ध गराउन सकिने जनाएको छ।
भोटेकोशीको बाढीले बगाएर ल्याएका शवको चितवनमा भइरहेको व्यवस्थापन अहिले प्राकृतिक विपत्तिपछिको अर्को गम्भीर मानवीय चुनौती बनेको छ—जहाँ एकातिर प्रशासनलाई सयौँ शव सुरक्षित व्यवस्थापन गर्नुपर्ने दबाब छ भने अर्कोतिर आफन्तहरू आफ्नो मान्छेको अन्तिम पहिचान र अन्तिम संस्कारको प्रतीक्षामा छन्।