बाढी प्रभावितका लागि नामियाको पहिलो चरणमा ५ लाख ११ हजारभन्दा बढी सहयोग


काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले पहिलो चरणमा ५ लाख ११ हजार २ सय ३८ रुपैयाँ सहयोग संकलन गरेको छ।

संघले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन व्यवसायी तथा सम्बद्ध सदस्यहरूबाट सहयोग रकम संकलन सुरु गरेको हो। पहिलो चरणमा संकलित रकम ५ लाख ११ हजार २ सय ३८ रुपैयाँ रहेको संघले जनाएको छ।

विपद्को अवस्था अझै गम्भीर रहेकाले संघले सहयोग संकलनलाई निरन्तरता दिएको छ। थप रकमसमेत संकलन भइरहेको र संकलित सहयोगलाई प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनामा परिचालन गरिने संघले जनाएको छ।

कृषि क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा नामियाले प्राकृतिक विपद्को समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग अभियान अघि बढाएको हो।

संघले बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहतका लागि सक्दो सहयोग गर्न कृषि मेशिनरी व्यवसायी, संघका सदस्य तथा अन्य शुभेच्छुकलाई आग्रह गरेको छ।

प्राकृतिक विपद्का कारण सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुग्नुका साथै सर्वसाधारणको जनजीवन प्रभावित भएको अवस्थामा राहत र पुनर्स्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग आवश्यक रहेको संघको भनाइ छ।

नामियाले पहिलो चरणमा ५ लाख ११ हजार २ सय ३८ रुपैयाँ सहयोग जुटाइसकेको छ भने थप सहयोग रकम संकलन गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ।