काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत प्रभावित नदी करिडोर क्षेत्रमा यात्रा नगर्न आन्तरिक तथा विदेशी पर्यटकलाई आग्रह गरेकोछ। बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा बस्तीमा क्षति पुगेको छ भने भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्र उच्च जोखिममा परेका छन्।
नेपाल पर्यटन बोर्डले बुधबार सार्वजनिक गरेको ‘भोटेकोशी फ्ल्यास फ्लड : सिचुएसन अपडेट–१’ अनुसार बाढी बिहान करिब ८ः३० बजे चीनतर्फबाट नेपाल प्रवेश गरेको हो। बाढी अहिले नुवाकोट र धादिङ हुँदै मुग्लिनतर्फ बगिरहेको छ भने
क्षतिको विवरण संकलन, उद्धार र आपत्कालीन व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको छ।
पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह
पर्यटन बोर्डले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा भोटेकोशी–त्रिशूली नदी करिडोर आसपास रहेका सबै पर्यटकलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।
पर्यटकलाई नदी किनार, पुल, होचो भूभाग र बाढी प्रभावित सडकबाट टाढा रहन, स्थानीय प्रशासन, सुरक्षा निकाय र पर्यटक प्रहरीको
निर्देशन पालना गर्न तथा होटल, ट्रेकिङ एजेन्सी र गाइडसँग नियमित सम्पर्कमा रहन सुझाव दिइएको छ।
सडकको अवस्था नबुझी यात्रा सुरु नगर्न, बाढी आएको सडक वा खोल्सी तर्ने प्रयास नगर्न र स्थानीय प्रशासनले निर्देशन दिएमा तुरुन्तै सुरक्षित तथा अग्लो स्थानमा जान पनि आग्रह गरिएको छ।
प्रभावित क्षेत्रमा यात्रा स्थगित गर्न अनुरोध
पर्यटन बोर्डले रसुवा र आसपासका पर्यटकीय गन्तव्यतर्फ यात्रा गर्ने योजना बनाएका पर्यटकलाई अर्को सूचना नभएसम्म यात्रा स्थगित गर्न अनुरोध गरेको छ।
हाल पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक र मुग्लिन–नारायणगढ सडकखण्ड प्रभावित भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन भनिएको छ।
काठमाडौंबाट प्रभावित जिल्लातर्फ सवारी रोकियो
सुरक्षाका दृष्टिले काठमाडौं उपत्यका ट्राफिक प्रहरीले काठमाडौंबाट रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारी साधन सञ्चालन अस्थायी रूपमा रोकेको छ। सडक सुरक्षित भएको आधिकारिक सूचना नआएसम्म ती क्षेत्रमा यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ।
उद्धारमा सेनाका हेलिकोप्टर परिचालन
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाका दुईवटा हेलिकोप्टर रसुवामा परिचालन गरिएको छ। गृह मन्त्रालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र उद्धार टोलीले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।
गृहमन्त्री सुधन गुरुङले भोटेकोशी र त्रिशूली नदी आसपासका बासिन्दा तथा यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै प्रभावित राजमार्ग र नदी करिडोरमा अनावश्यक यात्रा नगर्न अपिल गरेका छन्।
आपत्कालीन सम्पर्क नम्बर
आपत्कालीन उद्धार, खोज तथा अन्य सहयोगका लागि सरकारले निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
-
टोल–फ्री आपत्कालीन नम्बर: १२३४
-
हटलाइन: ११४४
-
पर्यटक प्रहरी: ९८५१२४९५६०
आधिकारिक सूचना मात्रै
विश्वास गर्न आग्रह
नेपाल पर्यटन बोर्डले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना विश्वास नगर्न र सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक पर्यटन संस्थाबाट जारी सूचना मात्रै पछ्याउन आग्रह गरेको छ।
बाढीबाट प्रभावित वा सहयोग आवश्यक परेका आन्तरिक तथा विदेशी पर्यटकका लागि समन्वय र सहजीकरण गर्न बोर्डले अनलाइन फारमसमेत सञ्चालनमा ल्याएको जनाएको छ।