‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८ र १९ मा: एआई, अटोमेसन र विश्वस्तरीय प्रविधिमा विशेष जोड


काठमाडौँ। वर्डप्रेसको प्रतिष्ठित सम्मेलन ‘वर्डक्याम्प काठमाडौँ २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। वर्डप्रेस काठमाडौँको आयोजनामा हुन लागेको यस दुईदिने प्रविधि सम्मेलनमा देशभरका सफ्टवेयर इन्जिनियर, वेब विकासकर्ता, विद्यार्थी, फ्रिलान्सर तथा प्रविधि उद्यमीहरूको बाक्लो उपस्थिति रहने भएको छ।

सम्मेलनको पहिलो दिन ‘कन्ट्रीब्युटर डे’ रहनेछ । यसमा सहभागी तथा विकासकर्ताहरूले वर्डप्रेस सफ्टवेयरको मुख्य कोडिङ, नेपाली भाषा अनुवाद, दस्ताबेजीकरण, थिम तथा प्लगइन परीक्षणमा प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाउनेछन्। साथै अनुभवी प्रशिक्षकहरूबाट प्रत्यक्षरूपमा वर्डप्रेसको तालिम समेत दिइने भएकोले सहभागीहरुले प्राविधिक सिप निखार्नुको साथै अन्तर्राष्ट्रिय स्तरको अनुभव र व्यक्तिगत प्रोफाइललाई निकै बलियो बनाउन सक्नेछन् ।

सम्मेलनको दोस्रो दिन आधुनिक प्रविधि, निःशुल्क र खुल्ला स्रोत प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), र सुरक्षित वेब विकासमा केन्द्रित प्राविधिक तथा व्यावसायिक सत्रहरू सञ्चालन हुनेछन्। विशेष गरी एआईको सहयोगमा छिटो र प्रभावकारी सफ्टवेयर विकास गर्ने कार्यप्रणाली, युआई-युएक्स, स्मार्ट प्रम्प्ट लेखन, सुरक्षित कोडिङ, क्लाउड प्रणाली र डिजिटल भुक्तानीका विविध पक्षहरूबारे विशेषज्ञ र अनुभवी वक्ताहरुद्वारा तालिमहरू सञ्चालन हुनेछन्।

सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, र फिलिपिन्स लगायतका मुलुकबाट आएका ख्यातिप्राप्त प्राविधिक विज्ञ, उत्पादन व्यवस्थापक र समुदायका अगुवाहरूले आफ्नो प्रस्तुति दिनेछन् । साथै नेपालमै बसेर  विदेशी ग्राहकहरूसँग कसरी काम गर्ने आफ्ना डिजिटल उत्पादनहरूलाई विश्व बजारमा बिक्री गरेर मुद्रा आर्जन गर्ने व्यवहारिक र रणनीतिक पाटोहरूको बारेमा पनि छलफल हुनेछन्।