काठमाडौं। नेपालको अटोमोबाइल बजार सुस्त रहेको अवस्थामा व्यवसायीले उपभोक्ताको ध्यान प्रविधि, विद्युतीय सवारीसाधन र नयाँ पुस्ताका मोबिलिटी समाधानतर्फ केन्द्रित गर्दै १८औँ नाडा अटो शो २०२६ आयोजना गर्ने भएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को स्थापनाको ५०औँ वर्षलाई विशेष बनाउँदै आयोजना हुन लागेको अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन
हुनेछ। यसपटकको प्रदर्शनीलाई विगतका संस्करणभन्दा फरक बनाउँदै नेपाली उत्पादनदेखि अत्याधुनिक रोबोटसम्मलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने भएको छ।
नाडाले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अटो शोको तयारी, सहभागी ब्रान्ड, नयाँ प्रविधि, नेपाली उत्पादन र दर्शकका लागि गरिएका व्यवस्थाबारे जानकारी दिएको हो।
बजार सुस्त, अटो शोबाट नयाँ ‘बुस्ट’को अपेक्षा
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल उद्योग आर्थिक तथा औद्योगिक विकासको महत्वपूर्ण हिस्सा बनिसकेको बताए। उनका अनुसार अटो शो सवारीसाधनको बिक्री रप्रदर्शन गर्ने परम्परागत कार्यक्रम मात्र नभई उद्योगमा भइरहेको प्रविधिगत परिवर्तन र भविष्यको सम्भावना देखाउने मञ्च बन्नेछ।
विशेषगरी विद्युतीय सवारीसाधन, नयाँ सुरक्षा प्रविधि र स्मार्ट मोबिलिटीका कारण अटोमोबाइल उद्योग तीव्र परिवर्तनको चरणमा रहेकाले त्यसको प्रत्यक्ष अनुभव उपभोक्तालाई गराउने उद्देश्य रहेको उनले बताए।
अटो शो समितिका सभापति अनूपकुमार बरालका अनुसार करिब तीन लाख वर्गफिट क्षेत्रफलमा हुने प्रदर्शनीमा साना–ठूला गरी दुई सयभन्दा बढी स्टल रहनेछन्।
२३ कार ब्रान्डदेखि ३० दुईपाङ्ग्रे ब्रान्डसम्म
यसपटकको अटो शोमा २३ ब्रान्डका यात्रुवाहक कार, १७ ब्रान्डका हलुका व्यावसायिक सवारीसाधन र ३० ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुनेछन्।
त्यसैगरी, १० वटा वित्तीय तथा बीमा कम्पनीको सहभागिता रहनेछ। पार्टपुर्जा, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, सहायक सामग्री, ग्यारेज उपकरणलगायतका उत्पादनका लागि करिब ७० वटा स्टल रहने आयोजकले जनाएको छ।
विभिन्न ब्रान्डले नयाँ मोडल सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्। यसले उपभोक्तालाई एउटै स्थानबाट नयाँ सवारीसाधन र प्रविधिको तुलना तथा जानकारी लिन अवसर दिनेछ।
नेपालमा बनेका’ उत्पादनलाई छुट्टै मञ्च
यस वर्षको अटो शोको एउटा महत्वपूर्ण पक्ष स्वदेशी उत्पादनको प्रवद्र्धन पनि हो।
‘नेपालमा बनेका तथा नेपालका लागि बनेका’ सामग्रीलाई छुट्टै कक्षमा राखिनेछ। स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधनसँगै लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट र अन्य अटोमोबाइल सामग्री उक्त कक्षमा प्रदर्शन गरिनेछ।
आयोजकले यसलाई नेपाली उद्योगको उत्पादन क्षमता, प्रविधि र सम्भावना देखाउने अवसरका रूपमा लिएको छ।
गाडीको स्टलबीच रोबोटको आकर्षण
अटो शोमा यसपटक सवारीसाधनसँगै मानवरूपी जी१ रोबोट र गो२ चतुष्पाद रोबोट पनि प्रदर्शन गरिनेछन्।
मानिसजस्तै हिँडडुल गर्न सक्ने मानवरूपी रोबोटदेखि चार खुट्टे रोबोटसम्मको प्रदर्शनले अटोमोबाइलभन्दा बाहिरको प्रविधिगत परिवर्तनलाई समेत प्रदर्शनीमा जोड्नेछ।
अटोमोबाइल उद्योगमा बढ्दै गएको स्वचालन, कृत्रिम बुद्धिमत्ता र जडान प्रविधिको सम्भावनालाई दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने उद्देश्यले रोबोट प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ।
अटो शोमा ‘मोबिलिटी’को बहस पनि
यसपटक अटो शोमा सवारीसाधन प्रदर्शनसँगै स्मार्ट मोबिलिटी, दिगो सवारी विकास र सवारीसाधनमा बढ्दो जडान प्रविधि सम्बन्धी परिसंवादसमेत आयोजना गरिनेछ।
यसले नेपालमा आगामी दिनको यातायात प्रणाली कस्तो हुने, विद्युतीय सवारीको विस्तार, स्मार्ट प्रविधिको प्रयोग र अटोमोबाइल उद्योगको भविष्यबारे बहस गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
पार्किङदेखि स्वास्थ्य सेवासम्मको व्यवस्था
दर्शकको सहजताका लागि नेपाल पुलिस क्लब तथा राष्ट्रिय व्यापारिक परिसरमा पार्किङको व्यवस्था गरिनेछ। पार्किङस्थलबाट भृकुटीमण्डपसम्म दर्शकलाई ल्याउन–लैजान सटल बस सेवा सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, आपत्कालीन स्वास्थ्य टोली, ट्राफिक सूचना डेस्क र ह्वीलचेयर सेवाको व्यवस्था गरिनेछ। महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक व्यवस्थापन गरिने तथा प्रदर्शनीस्थललाई अपाङ्गतामैत्री बनाउने तयारी गरिएको छ।
टिकटमा ५० प्रतिशतसम्म क्यासब्याक
यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजन एचपी लुब्रिकेन्ट्सले गरेको छ। दर्शकले टिकटिङ साझेदार खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्।
आयोजकका अनुसार निश्चित अवधिमा टिकट खरिद गर्ने दर्शकले ५० प्रतिशतसम्म नगद फिर्ता पाउने व्यवस्था गरिएको छ।
७५ हजार दर्शक आउने अपेक्षा
छ दिनसम्म चल्ने प्रदर्शनीमा करिब ७५ हजार दर्शक सहभागी हुने आयोजकको अनुमान छ।
नाडाका अनुसार ५० वर्षको संस्थागत यात्रालाई स्मरणीय बनाउने मात्र नभई सुस्त बनेको अटोमोबाइल बजारलाई चलायमान बनाउन, उपभोक्तालाई नयाँ प्रविधिसँग परिचित गराउन र अटोमोबाइल क्षेत्रका विभिन्न पक्षलाई एउटै मञ्चमा जोड्न यस वर्षको अटो शो केन्द्रित हुनेछ।
यसपटकको नाडा अटो शोको सन्देश पनि यही देखिन्छ, अब अटो शोमा गाडी मात्र होइन, नेपाली अटो उद्योगको क्षमता र भविष्यको ‘मोबिलिटी’ समेत प्रदर्शन हुनेछ।