सामसुङ प्लाजाको विस्तार : कालिमाटीमा १६औँ शोरुम सञ्चालन, सक्कली उत्पादन र सेवा अब अझ नजिक


काठमाडौं । नेपालमा सामसुङ ब्रान्डका आधिकारिक उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यसहित हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसुङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमसँगै कम्पनीले राजधानीका उपभोक्तालाई सक्कली सामसुङ उत्पादन र बिक्रीपछिको सेवा अझ सहज रूपमा उपलब्ध गराउने जनाएको छ।

सोमबार आयोजित कार्यक्रममा सामसुङ नेपालका प्रबन्ध निर्देशक चाङ यूके जङहिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका थिए।

नयाँ शोरुममा सामसुङका नवीनतम स्मार्टफोन, स्मार्ट टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, किचन एप्लायन्सेस लगायतका विभिन्न इलेक्ट्रोनिक तथा घरायसी उपकरणहरूको आधिकारिक बिक्री गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष अफर, आधुनिक किनमेलको अनुभव तथा तालिमप्राप्त बिक्री प्रतिनिधिबाट व्यावसायिक परामर्शको सुविधा उपलब्ध गराइएको छ। यसले ग्राहकलाई आफ्नो आवश्यकता अनुसार उपयुक्त उत्पादन छनोट गर्न थप सहज हुने विश्वास गरिएको छ।

सामसुङ प्लाजाले कालिमाटी शोरुम सञ्चालनसँगै राजधानीको पश्चिमी क्षेत्रमा आफ्नो बजार उपस्थिति अझ बलियो बनाएको छ। कम्पनीका अनुसार उपभोक्तालाई सक्कली उत्पादन, आधिकारिक वारेन्टी, भरपर्दो बिक्रीपछिको सेवा र नवीन प्रविधि एउटै स्थानबाट उपलब्ध गराउने रणनीतिअनुसार शोरुम विस्तार गरिएको हो।

नेपालमा स्मार्टफोनदेखि घरायसी विद्युतीय उपकरणसम्म सामसुङ उत्पादनको माग निरन्तर बढिरहेका बेला कम्पनीले खुद्रा बिक्री सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। नयाँ शोरुम सञ्चालनले कालिमाटी तथा आसपासका क्षेत्रका उपभोक्ताले आधिकारिक सामसुङ उत्पादन खरिद गर्न थप सहज पहुँच पाउने अपेक्षा गरिएको छ।

कम्पनीले सबै ग्राहकलाई नयाँ शोरुममा पुगेर सामसुङका नवीनतम प्रविधि तथा उत्पादनको प्रत्यक्ष अनुभव लिन आग्रह गरेको छ।