काठमाडौं। चन्द्रागिरि नगरपालिकामा निर्माण सम्पन्न भएको नेपालकै पहिलो आधुनिक प्रविधियुक्त नागढुंगा सुरुङमार्गको मुख्य टनेलको उद्घाटन सम्पन्न भएको छ। बहुप्रतीक्षित यस आयोजनाको मुख्य सुरुङ औपचारिक रूपमा सञ्चालनतर्फ अघि बढेसँगै काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा नयाँ अध्याय सुरु भएको अपेक्षा गरिएको छ।
मुख्य टनेल उद्घाटनका अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले आयोजना सफल बनाउन स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा नगरपालिकाको समन्वयात्मक भूमिकाले महत्वपूर्ण योगदान गरेको बताए।
उनका अनुसार सुरुङमार्ग निर्माणको प्रारम्भिक चरणदेखि नै स्थानीयको जग्गा अधिग्रहण, भौतिक संरचनाको क्षतिपूर्ति निर्धारण तथा वितरण, पुनर्स्थापना र निर्माणका क्रममा देखिएका विभिन्न समस्या समाधानमा नगरपालिकाले सक्रिय भूमिका निर्वाह गरेको थियो।
मेयर गिरीले आयोजनालाई समयमै सम्पन्न गर्न स्थानीयवासीले देखाएको धैर्यता, सहकार्य र सहयोगप्रति आभार व्यक्त गर्दै विकास निर्माणका ठूला आयोजनामा स्थानीय समुदायको सहभागिता र विश्वास नै सफलताको मुख्य आधार भएको उल्लेख गरे।
उनले नगरपालिकाले स्थानीयको हितलाई प्राथमिकतामा राखेर अधिकतम मुआब्जा निर्धारण, प्रभावित परिवारसँग निरन्तर संवाद तथा आवश्यक सहजीकरणको काम गरेको बताए। यस प्रक्रियामा स्थानीय बासिन्दाले पनि सकारात्मक सहयोग गरेकाले आयोजना सफलतापूर्वक सम्पन्न हुन सकेको उनको भनाइ थियो।
नागढुंगा सुरुङमार्ग नेपालकै पहिलो आधुनिक सडक सुरुङ परियोजनाका रूपमा परिचित छ। यस परियोजनाले काठमाडौं उपत्यकामा प्रवेश गर्ने प्रमुख नाका नागढुंगाको दीर्घकालीन सवारी जाम न्यूनीकरण, यात्रा समय घटाउने, इन्धन बचत गर्ने तथा सडक सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा आयोजना निर्माणमा संलग्न निकाय, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। नगरपालिकाले आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण नगरवासी, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गरेको छ।