काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघ, नेपालले सरकारले सार्वजनिक गरेको कृषि क्षेत्रसम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। महासंघले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, किसानमैत्री नीति र कृषि रूपान्तरणका कार्यक्रम व्यवहारमा उतार्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालभरका हजारौं कृषक समूह, कृषि सहकारी तथा किसान सञ्जालमार्फत वास्तविक किसानको हकहित संरक्षण, कृषि उत्पादन वृद्धि र नीतिगत सुधारका लागि लामो समयदेखि काम गर्दै आएको उल्लेख गरिएको छ। महासंघका अनुसार संगठनले देशभरका किसानलाई संगठित गर्दै कृषि विकासमा निरन्तर योगदान पुर्याइरहेको छ।

महासंघले विशेषगरी कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने, कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्ने, कृषकलाई कर छुट, सहुलियतपूर्ण कर्जा, क्रेडिट कार्ड, अनुदान तथा सामाजिक सुरक्षाको दायरामा ल्याउने, भूमिहीन तथा साना किसानलाई प्राथमिकता दिने, सामुदायिक बीउ प्रणालीको संरक्षण तथा जलवायु अनुकूल कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने विषयलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
त्यसैगरी, मूल्य शृङ्खला विकास, माटोको उर्वराशक्ति संरक्षण, जैविक प्रविधिको विस्तार तथा बाँझो जमिनको उत्पादनशील उपयोगजस्ता कार्यक्रमले कृषि क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने महासंघको विश्वास छ।
महासंघले कृषि विकासका लागि संरचनागत सुधार, संस्थागत सुदृढीकरण र नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै सरकारलाई आवश्यक सुझाव तथा सहकार्य गर्न आफूहरू तयार रहेको जनाएको छ। किसानमुखी नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न सके मात्रै कृषि प्रधान नेपालले खाद्य आत्मनिर्भरता हासिल गर्न सक्ने महासंघको धारणा छ।
प्रेस विज्ञप्तिमा अध्यक्ष पंचकाजी श्रेष्ठले कृषि प्रणाली सुधार र वास्तविक किसानको सशक्तीकरणका लागि महासंघले आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्दै आवश्यक सुझाव र सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।