काठमाडौं । नेपालको होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सेवामा दुई दशकभन्दा बढी समयदेखि सक्रिय हेल्दी होमले २१औँ वार्षिकोत्सव मनाउँदै संस्थाको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरेको छ। वार्षिकोत्सवलाई कम्पनीले केवल उत्सवका रूपमा नभई आगामी विस्तार, प्रविधिमैत्री सेवा र दीर्घकालीन व्यावसायिक रूपान्तरणको सुरुआतका रूपमा प्रस्तुत गरेको छ।
वि.सं. २०६३ मा मोहन भुसाल र कृष्ण भट्टराईले संयुक्त रूपमा स्थापना गरेको हेल्दी होमले हाल काठमाडौं र पोखरामा चार शाखामार्फत सेवा दिँदै आएको छ। कम्पनीका अनुसार ५० हजारभन्दा बढी सेवाग्राहीले यसको विभिन्न स्वास्थ्य तथा वेलनेस सेवा लिइसकेका छन्।
शरीरको तौल व्यवस्थापन, स्किन तथा हेयर एनालाइसिस, वेलनेस कन्सल्टिङ र एस्थेटिक सेवामा परिचित हेल्दी होमले नेपालमा आधुनिक वेलनेस प्रविधि भित्र्याउँदै जीवनशैलीमा आधारित स्वास्थ्य सेवाको अवधारणालाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।
नयाँ पुस्तालाई नेतृत्व, पुरानै मूल्यलाई निरन्तरता
वार्षिकोत्सवका अवसरमा संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको यात्रा कम्पनीका लागि उपलब्धिमात्र नभई अझ ठूलो जिम्मेवारीको सुरुआत भएको बताउनुभयो।
उहाँले सेवाग्राहीको विश्वास, कर्मचारीको समर्पण र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धताले नै कम्पनीलाई आजको स्थानमा पुर्याएको उल्लेख गर्दै आगामी दिनमा नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि हेल्दी होमको पहिचान विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो।
भुसालका अनुसार कम्पनी स्थापना गर्दाको उद्देश्य उपचार सेवा उपलब्ध गराउने मात्र नभई स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्नु थियो, जुन उद्देश्यलाई कम्पनीले आगामी पुस्ताको नेतृत्वमार्फत अझ प्रभावकारी रूपमा अघि बढाउनेछ।
विस्तार र नवप्रवर्तनमा जोड
हेल्दी होमका म्यानेजिङ डाइरेक्टर मन्दिप भुसालले नयाँ नेतृत्वले संस्थापकहरूले स्थापित गरेको मूल्य, दृष्टिकोण र सेवाको गुणस्तरलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले आधुनिक प्रविधि, नवीन सेवा तथा उत्कृष्ट ग्राहक अनुभवलाई प्राथमिकतामा राख्दै हेल्दी होमलाई नेपालको अग्रणी समग्र स्वास्थ्य तथा वेलनेस संस्थाका रूपमा स्थापित गर्ने योजना रहेको जानकारी दिनुभयो। आगामी वर्षहरूमा थप शाखा विस्तार, सेवा विविधीकरण तथा गुणस्तरीय स्वास्थ्य सेवा देशभर सहज रूपमा उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ थियो।
वार्षिकोत्सवमा सेवाग्राहीलाई आकर्षक उपहार
२१औँ वार्षिकोत्सवलाई विशेष बनाउन कम्पनीले विशेष ग्राहक अभियान सञ्चालन गरेको थियो। अभियानअन्तर्गत लक्की ड्रमार्फत विजेताहरूलाई एक लाख रुपैयाँ नगद, वेट लस कार्यक्रम, स्किन केयर ह्याम्पर तथा हेल्दी होमका विशेष गिफ्ट ह्याम्पर प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो अभियान सेवाग्राहीले वर्षौंदेखि देखाएको विश्वास र साथप्रति आभार व्यक्त गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
वेलनेस उद्योगमा थप लगानी गर्ने तयारी
हेल्दी होमले अबको चरणमा ब्रान्ड विस्तारसँगै नयाँ प्रविधिमा लगानी, सेवा थप विस्तार तथा वेलनेस र एस्थेटिक्स क्षेत्रमा नवीनतम अभ्यास भित्र्याउने रणनीति अघि सारेको जनाएको छ। कम्पनीले विश्वास, गुणस्तर र नवप्रवर्तनलाई आधार बनाएर आगामी वर्षहरूमा पनि नेपालको स्वास्थ्य तथा वेलनेस उद्योगमा अग्रणी भूमिका कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।