बजारको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ निक्षेप संकलन


काठमाडौं, नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार १९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरिएको हो। बोलकबोल आज दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत सञ्चालन हुनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरण आजै निष्कासन गरिनेछ। यस उपकरणको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि समय–समयमा यस्ता निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।