नेपाल कृषि प्रधान देश भए पनि कृषि उत्पादकत्व वृद्धि, प्रविधि विकास, नवप्रवर्तन तथा कृषि व्यवसायीकरण अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। यस्तो अवस्थामा कृषि अनुसन्धान, प्रविधि विकास तथा प्रभावकारी कृषि प्रसार प्रणालीलाई सुदृढ बनाउनु आजको प्रमुख आवश्यकता बनेको छ। यही सन्दर्भमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को वर्तमान अवस्था, प्रमुख उपलब्धि, विद्यमान चुनौती तथा समग्र कृषि क्षेत्रको दीर्घकालीन सुधारका विषयमा यो लेख केन्द्रित रहेको छ।
नेपालमा कृषि विकासको इतिहास लामो भए पनि वैज्ञानिक कृषि अनुसन्धानको संस्थागत विकास अपेक्षाकृत नयाँ हो। नेपालमा कृषि अनुसन्धानको प्रारम्भ वि.सं. १९८२ सालमा सिंहदरबार परिसरमा कृषि परीक्षण फार्म स्थापना तथा वि.सं. २००४ सालमा बारा जिल्लाको परवानीपुरमा केन्द्रीय कृषि अनुसन्धान फार्म स्थापना भएपछि भएको मानिन्छ। त्यसपश्चात् वि.सं. २०४४ सालमा कृषि अनुसन्धान तथा सेवा केन्द्रको स्थापना र सञ्चालनसँगै कृषि अनुसन्धान तथा प्रविधि विकासले औपचारिक संस्थागत स्वरूप प्राप्त गरेको हो।
यद्यपि, देशको कृषि विकासलाई थप वैज्ञानिक, प्रभावकारी तथा परिणाममुखी बनाउन छुट्टै स्वायत्त अनुसन्धान संस्थाको आवश्यकता महसुस गरियो र सोही आवश्यकतालाई सम्बोधन गर्दै वि.सं. २०४८ साल वैशाख २५ गतेनेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८अन्तर्गतनेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को स्थापना गरिएको थियो।नार्कको संस्थागत संरचनालाई थप सुदृढ बनाउने उद्देश्यले वि.सं. २०५३ साल फागुन ३ गते ऐन संशोधन गरी कृषि तथा पशुपन्छी विकास मन्त्रीको अध्यक्षतामा १६ सदस्यीय परिषद्को व्यवस्था गरिएको छ। उक्त परिषद्लाई नार्कको नीति, योजना तथा कार्यक्रम तर्जुमा, सञ्चालन, अनुगमन र समग्र मार्गनिर्देशन गर्ने सर्वोच्च नीतिगत निकायका रूपमा स्थापित गरिएको छ।
नार्कमा देखिएका समस्याहरू
नार्कको स्थापनकालमा यसलाई स्वायत्त सरकारीअनुसन्धान मुलक संस्थाको रुपमा परिकल्पना गरिएको र त्यस अनुरुप स्थापना भएपनि यो संस्था देशको बदलिदो अझ भन्नुपर्दा राजनैतिक अस्थिरतामा विभीन्न अवरोधहरूजस्तै: नीतिगत समस्या, संस्थागत समस्या, मानव स्रोत व्यवस्थापनमा समस्या, वित्तीय समस्या, अनुसन्धान–प्रसार–शिक्षाबीच समन्वयकोअभाव तथा विभिन्न कानुनी जटिलता पार गर्दै अगाडी बढिरहेको छ ।
बदलिदो समय, परिस्थिति तथा राज्य सञ्चालनका प्रक्रिया सँगसँगै नार्कको ऐन, ओ एण्ड एम तथा विनियम जस्ता महत्वपूर्ण नीतिगत सुधारहरू अझैसम्म नहुनु वा कृषि, वन तथा वातावरण मन्त्रालयले यसमा पर्याप्त ध्यान दिन नसक्नु, पदपूर्तिको समस्या, अनुसन्धानकर्ताको मनोबलमा गिरावट, अनुसन्धान प्रणालीमा राज्यको कम लगानी, विभीन्न मुद्दा मामिला, नार्क र मन्त्रालय बिचमा सहकार्यको अभाव,नार्क र स्थानीय तह बिचमा समन्वयको अभाव, संसदीय कृषि तथा प्राकृतिक स्रोत समितिले पनि मन्त्रालयका अन्य साधारण परियोजनाहरुमा भन्दा नार्क वा कृषि अनुसन्धान प्रणालीको समग्र सुधारमा चासो नदिनु, आदि समस्याहरूले गर्दा देशमा समग्र कृषिक्षेत्रको विकासहुन नसकेको यसक्षेत्रमा काम गर्ने सम्पूर्ण कृषक, व्यवसायी तथा प्राविधिकहरु सबैले नकार्न नसकिएला। ,
नार्कले हालसम्म गरेका मुख्य उपलब्धिहरू
नार्कले भोग्दै आइरहेका विभिन्न समस्याहरुका बावजुत पनि नार्कले अहिलेसम्म समग्र कृषि क्षेत्रको विकासको लागि उल्लेखनीय कार्यगर्दैआइरहेकोछ। यसलेआफ्नो स्थापनाकालदेखि नै आफ्नो बलबुताले भ्याएसम्म कृषि क्षेत्रको दिगो विकासका लागि उच्चस्तरीय कृषि अनुसन्धान सञ्चालन गर्ने, नवीन प्रविधिको विकास तथा प्रसार गर्ने, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, कृषि क्षेत्रका समस्याहरूको वैज्ञानिक समाधान खोज्ने तथा कृषि नीति तर्जुमाका लागि नेपाल सरकारलाई आवश्यक प्राविधिक तथा वैज्ञानिक सहयोग प्रदान गर्ने कार्य गर्दै आएको छ। यस क्रममा नार्कले हासिल गरेका प्रमुख उपलब्धिहरू निम्नानुसार रहेका छन् :
- हालसम्म विभिन्न खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, नगदे बाली तथा अन्य कृषि बालीका७५४ भन्दा बढी उन्नत जातविकास तथा सिफारिस गरी कृषकस्तरमा विस्तार गरिएको।
- विभिन्न बाली तथा पशुपन्छीका लागिमलखाद व्यवस्थापन, बाली उत्पादन, रोग तथा कीरा व्यवस्थापन, बीउ तथा बिरुवा उत्पादन, भण्डारण व्यवस्थापन, कृषि यान्त्रिकीकरण तथा जलवायु-मैत्री कृषि प्रविधिहरूविकास गरी कृषकसमक्ष पुर्याइएको।
- राष्ट्रिय जिन बैंकमार्फत ३०० भन्दा बढी बालीका १८,००० भन्दा बढी स्थानीय आनुवंशिक स्रोतसङ्कलन, संरक्षण, अभिलेखीकरण तथा दिगो उपयोगको व्यवस्था गरिएको।
- वार्षिक रूपमा करिब १,००० टन स्रोत तथा प्रजनन बीउउत्पादन तथा वितरण गरी गुणस्तरीय बीउ प्रणाली सुदृढ बनाइएको।
- वार्षिक रूपमा करिब १ लाखको हाराहारीमा आलुको प्रिबेसिक बीउ, ५ लाखको हाराहारीमा फलफूल, अलैची कफीका बेर्ना उत्पादन, १५ सयको हाराहारीमा पशुवस्तुहरुको पाठा–पाठी तथा पाडा–पाडी उत्पादन, १ लाखको हाराहारीमा कुखुराको चल्ला उत्पादन र २ करोडको हाराहारीमा माछाका भुरा उत्पादन गरी कृषि सम्बन्धी सेवा प्रदायक निकायहरुलाई उपलब्ध गराउंदै आएको।
- स्रोत सामग्री उत्पादन तथा वितरणबाट वार्षिक करिबरु. १६ करोड राजस्व संकलन हुँदै आएको।
- अनुसन्धान योजना तर्जुमा, कार्यक्रम सञ्चालन, अनुगमन, मूल्याङ्कन तथा अनुसन्धान प्रकाशनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनडिजिटल परियोजना व्यवस्थापन प्रणाली (Digital Project Management System) सञ्चालनमा ल्याइएको।
- अनलाइन पुस्तकालय (Online Library) मार्फत अनुसन्धानका प्रतिवेदन, वैज्ञानिक लेख, प्राविधिक प्रकाशन तथा अन्य ज्ञान सामग्रीहरू डिजिटल माध्यमबाट सर्वसुलभ बनाइएको।
- टेलिफोन, टेलिभिजन, रेडियो, किसान कल सेन्टर, मौसमी पूर्वानुमान सेवा, बाह्य अनुसन्धान स्थल, नार्क प्रविधि गाउँ, आवासीय कृषक तालिम, प्राविधिक पुस्तिका, नार्क कृषि मोबाइल एप, एसएमएस सेवा, कृषक तथा पत्रकार अन्तरक्रिया, अनुसन्धान तथा प्रसार कार्यक्रमलगायत विविध माध्यमबाट कृषि प्रविधिको प्रभावकारी प्रसार तथा कृषकका समस्या समाधानमा उल्लेखनीय योगदान पुर्याइएको।
- डिजिटल माटो नक्साङ्कन (Digital Soil Mapping) मार्फत देशव्यापी माटोको विश्लेषण, माटोको उर्वराशक्ति मूल्याङ्कन तथा स्थानविशेषअनुसारको पोषक तत्व व्यवस्थापनका लागि वैज्ञानिक सूचना प्रणाली विकास गरिएको।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य विस्तार गरी कृषि अनुसन्धान, प्रविधि विकास, क्षमता अभिवृद्धि तथा ज्ञान आदान–प्रदानलाई सुदृढ बनाइएको।
- जलवायु परिवर्तन, प्राकृतिक स्रोत संरक्षण तथा खाद्य तथा पोषण सुरक्षालाई सम्बोधन गर्ने अनुसन्धान तथा प्रविधि विकासलाई प्राथमिकताका साथ अघि बढाइएको।
कृषिसेवा प्रदायकहरुको सुदृढीकरण
कृषि पेशा बहुसंख्यक नेपालीहरूको मुख्य पेशा तथा जीविकोपार्जनको प्रमुख स्रोत हो। यसलाई देशको सबैभन्दा आशावादी र सम्भावनायुक्त पेशाका रूपमा पनि लिइन्छ। देशका कुल घरपरिवारमध्ये करिब ५७.३ प्रतिशत परिवार कृषि पेशामा संलग्न रहेका छन् भने तीमध्ये ७० प्रतिशत भन्दा बढी घरपरिवारको मुख्य आम्दानीको स्रोत नै कृषि रहेको छ। साथै, यस क्षेत्रले देशको कुल श्रमशक्तिको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्दै आएको छ।
देशको अर्थतन्त्रमा पनि कृषि क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका रहँदै आएको छ। विगत दस वर्षको तथ्यांक हेर्दा कुल गार्हस्थ्य उत्पादन (GDP)मा कृषि क्षेत्रको औसत योगदान करिब २६ प्रतिशत रहेको देखिन्छ । हाल पनि कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान२५ प्रतिशत कायम रहेको छ भनेचालु आर्थिक वर्षमा कृषि क्षेत्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। विशेषगरी कृषि क्षेत्रको आर्थिक वृद्धि अनुकूल मनसुनका कारण उत्पादनमा हुने वृद्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको छ। त्यसैले वर्षभरि समयमै र सन्तुलित रूपमा हुने वर्षाको भूमिका देशको कृषि तथा समग्र अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।
यस क्षेत्रको विकास र सुदृढीकरणबिना देशको समग्र विकासको परिकल्पना गर्न कठिन छ। अन्यथा, “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा नारामै सीमित हुने अवस्था आउन सक्छ। त्यसैले कृषि क्षेत्रको सुदृढीकरणका लागि निम्न बुँदाहरूमा राज्यको गम्भीर ध्यानाकर्षण हुनु नितान्त आवश्यक देखिन्छ।


प्रविधिको विकास तथा त्यसको प्रभावकारी प्रयोगबाट नै कृषिको आधुनिकीकरण र व्यवसायीकरण सम्भव हुन्छ। सामान्यतया कृषिको कुल गार्हस्थ्य उत्पादन (AGDP) को १–२ प्रतिशत कृषि अनुसन्धान तथा प्रविधि विकासमा लगानी हुनुपर्ने मान्यता रहेको छ। तर नेपालमा कृषि अनुसन्धानमा राज्यको लगानी कृषिको कुल गार्हस्थ्य उत्पादनको करिब ०.३ प्रतिशतको हाराहारीमा मात्र सीमित रहेको देखिन्छ। विविध हावापानी, भौगोलिक बनोट तथा कृषि–जलवायु क्षेत्र भएको नेपालको सन्दर्भमा यी तथ्याङ्कहरूले कृषि क्षेत्रमा उन्नत प्रविधिको विकास, परीक्षण, विस्तार तथा अनुसन्धानमा राज्यको लगानी उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्ने आवश्यकता स्पष्ट रूपमा औँल्याउँछन्।
साथै, कृषि क्षेत्रको विकासमा संलग्न सेवा प्रदायक निकायहरूको पुनर्संरचना, नीतिगत स्थायित्व, स्पष्ट कार्यविभाजन तथा आपसी समन्वयलाई थप प्रभावकारी बनाउँदै संघीय संरचनाअनुरूप कार्यगत समन्वय सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ। राज्यले कृषिमा गरेको लगानी खर्च नभई देशको खाद्य सुरक्षा, रोजगार, आयात प्रतिस्थापन, विकास, तथा समृद्धिको भविष्यमा गरिएको दीर्घकालीन लगानी हो भन्ने दृष्टिकोण राज्यले अवलम्बन गर्नु आजको आवश्यकता हो।