आज काउलीमा हिजो रायो सागमा विषादीको मात्रा अत्यधिक


काठमाडौं । मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि मंगलबार कालीमाटी बजार ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

कालिमाटी युनिटकाे केन्द्रीय कृषि प्रयोगशालाले हरेक दिन बिहानै  कालीमाटी तरकारी बजारका १२ पसलको १२ थरी तरकारी तथा फलफूल परीक्षण गर्ने गरेको थियो ।

परीक्षण क्रममा अघिल्लो दिन रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । आज फर्पिङ क्षेत्रको काउलीमा विषादीको मात्रा धेरै भेटिएको उक्त काउली मा ९० प्रतिशत सम्म बिषादि रहेकोले उपभोग अयोग्य रहेको कालिमाटी बजार समितिले जनाइएको छ।

सरकारले रोकावट प्रतिशतदर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।

यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । यसअघि पनि धादिङ, मकवानपुर र सल्यानबाट आएका लौका, काउली र आलुमा अत्यधिक विषादी भेटिएको थियो ।

परीक्षणका क्रममा धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५१ प्रतिशत, मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा ६४.५४ प्रतिशत र सल्यानबाट ल्याइएको आलुमा ६६.९९ प्रतिशत विषादी पाइएको थियो ।