गोरखा। गोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। आपसी मैत्री, सहयोग तथा दिगो विकासका क्षेत्रमा अनुभव आदान–प्रदान गर्ने उद्देश्यसहित दुवै नगरपालिकाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो।
पालुङटार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तन र टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार दुवै नगरपालिकाले सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, सहरी व्यवस्थापन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा सहकार्य गर्ने भएका छन्।
यस्तै, सफल अभ्यास, अनुभव र प्रविधिको आदान–प्रदान, जनप्रतिनिधि तथा कर्मचारीहरूको अध्ययन भ्रमण, योजना तथा नीति निर्माणसम्बन्धी ज्ञान साझेदारी, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक सम्बन्ध विस्तारमा समेत सहकार्य गरिने समझदारीमा उल्लेख छ।
भगिनी सम्बन्धअन्तर्गत टोखा नगरपालिकाले पालुङटार नगरपालिका–५ मा पूर्वाधार निर्माण तथा अन्य सहकार्यका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, पालुङटारका स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन गरी टोखासहितका बजार क्षेत्रमा बजारीकरणका लागि सहयोग गर्ने विषय पनि समझदारीमा समेटिएको छ।
कार्यक्रममा पालुङटार नगर प्रमुख विवश चिन्तनले स्थानीय तहबीचको सहकार्यले विकासका नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले अनुभव, स्रोत र क्षमताको साझेदारीबाट सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सकिने बताए।
टोखा नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय तहबीचको सहकार्य वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै यस सम्बन्धले विकास, पर्यटन, संस्कृति तथा आर्थिक गतिविधिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
दुई नगरबीचको सम्बन्ध स्थापनामा पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको विगतको प्रशासनिक अनुभवलाई पनि महत्त्वपूर्ण मानिएको छ। उनी यसअघि टोखा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। उनको अनुभवले दुवै स्थानीय तहबीचको सहकार्यलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको पालुङटार र काठमाडौं उपत्यकाको महत्त्वपूर्ण नगर टोखाबीच स्थापित यो भगिनी सम्बन्धले स्थानीय विकास, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा जनस्तरको सम्बन्ध विस्तारमा नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।