दुई दिन भारी वर्षाको चेतावनी : बाढी, पहिरो र डुबानको उच्च जोखिम, पूर्वतयारीमा जुट्न आग्रह
Economic Khabar
१५ असार २०८३, सोमबार ०२:१६
काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन देशभर क्रमशः सक्रिय बन्दै गएको जनाउँदै असार १६ र १७ गते अधिकांश क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिएको छ। महाशाखाले सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने तथा एक–दुई स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ। देशका अधिकांश पहाडी तथा तराई क्षेत्र र हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
यसपटकको वर्षा बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह तीव्र बन्दै गएपछि मनसुन थप सक्रिय हुने अवस्थासँग जोडिएको महाशाखाले जनाएको छ। यसले आगामी दिनमा देशका बाँकी क्षेत्रमा समेत मनसुन पूर्ण रूपमा फैलिने संकेत गरेको छ।
महाशाखाले लगातारको वर्षाले पहाडी क्षेत्रमा पहिरो, भूक्षय तथा गेग्र्यान बहाव, तराई र सहरी क्षेत्रमा डुबान तथा नदी–खोलामा पानीको सतह अचानक बढ्न सक्ने जोखिम औँल्याएको छ। विशेषगरी नदी तटीय बस्ती, पहिरोको जोखिम भएका क्षेत्र तथा कमजोर भौगोलिक संरचना भएका स्थानका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यस्तै, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि उत्पादन, स्वास्थ्य सेवा, पर्यटन गतिविधि, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकायलाई उद्धार, राहत र पूर्वतयारीका सबै संयन्त्र सक्रिय अवस्थामा राख्न महाशाखाले आग्रह गरेको छ।
मौसमविद्हरूले मनसुनको सक्रियता अझ बढ्न सक्ने संकेत गर्दै आधिकारिक मौसम बुलेटिन नियमित रूपमा पछ्याउन र अनावश्यक जोखिमपूर्ण यात्रा नगर्न पनि सर्वसाधारणलाई सुझाव दिएका छन्।