काठमाडौं। टोखा नगरपालिकाले आगामी विकास योजनालाई प्रविधिमैत्री, व्यवस्थित र नागरिकमुखी बनाउने लक्ष्यसहित १९औँ नगरसभा सम्पन्न गरेको छ। नगरसभामा नगर प्रमुख प्रकाश अधिकारीले टोखालाई आधुनिक र स्मार्ट नगरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा नगरका हरेक सडक तथा गल्लीमा स्मार्ट सडक बत्ती जडान गरिने र प्रत्येक घरमा डिजिटल नम्बर बोर्ड राखिने महत्त्वाकांक्षी योजना सार्वजनिक गर्नुभयो।
नगरसभाको अध्यक्षता नगर प्रमुख अधिकारीले गर्नुभएको थियो। सभामा प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आगामी आर्थिक वर्षको बजेट, कार्यक्रम तथा प्रशासनिक प्रगति विवरण प्रस्तुत गर्दै नगरपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र प्रविधिमा आधारित बनाउने लक्ष्य लिएको जानकारी दिनुभयो।
यसैगरी, उपप्रमुख मुरारी तामाङले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सुरक्षा तथा आर्थिक विकासलाई केन्द्रमा राखेर योजना तयार गरिएको बताउनुभयो।
नगर प्रमुख अधिकारीले टोखाको तीव्र शहरीकरणलाई व्यवस्थित गर्न अब परम्परागत विकासको मोडेलभन्दा माथि उठेर स्मार्ट सिटी अवधारणाअनुसार नगर निर्माण गरिने उल्लेख गर्नुभयो। उहाँका अनुसार स्मार्ट सडक बत्ती जडान भएपछि ऊर्जा बचत, रातको समयमा सुरक्षा अभिवृद्धि र नगरको सौन्दर्यीकरणमा महत्वपूर्ण योगदान पुग्नेछ। त्यसैगरी, प्रत्येक घरमा डिजिटल नम्बर बोर्ड राख्ने योजनाले घर पहिचान, कर प्रशासन, आपतकालीन सेवा, डेलिभरी सेवा तथा नगर व्यवस्थापनलाई थप व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको छ।
नगरसभामा नगरका वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, विभिन्न शाखाका कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नगरको दिगो विकास, सेवा प्रवाहको सुधार, आधुनिक प्रविधिको प्रयोग तथा नागरिकको जीवनस्तर उकास्ने योजनालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।
टोखा नगरपालिकाले आगामी वर्षका कार्यक्रममार्फत सडक, खानेपानी, ढल व्यवस्थापन, हरियाली संरक्षण, फोहोरमैला व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै डिजिटल प्रशासनलाई विशेष प्राथमिकता दिएको जनाएको छ।
१९औँ नगरसभाले टोखालाई केवल भौतिक पूर्वाधारले सम्पन्न नगर मात्र नभई प्रविधिमैत्री, सुरक्षित, व्यवस्थित र नागरिकको आवश्यकता अनुसार सेवा प्रदान गर्ने आधुनिक ‘स्मार्ट नगर’का रूपमा रूपान्तरण गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।