काठमाडौं। वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको नयाँ दरअनुसार अधिकांश बैंकले ब्याजदर यथावत् राखे पनि सात बैंकले निक्षेपतर्फको ब्याजदर घटाएका छन्। यससँगै बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा ब्याजदर घट्ने क्रम अझै जारी रहेको देखिएको छ।
नेपाल बैंकर्स संघअन्तर्गतका २० वाणिज्य बैंकले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असार महिनामा ४.२७ प्रतिशत कायम भएको छ। यो जेठ महिनाको तुलनामा ०.०७ प्रतिशत बिन्दुले कम हो। जेठ महिनामा यस्तो दर ४.३४ प्रतिशत रहेको थियो।
यस्तै संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदरमा सामान्य गिरावट आएको छ। असार महिनाका लागि संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.१८ प्रतिशत निर्धारण गरिएको छ, जुन जेठ महिनाको ३.२० प्रतिशतको तुलनामा केही कम हो।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार सात बैंकले निक्षेपमा दिने ब्याजदर घटाएका छन् भने १३ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक तथा एनआईसी एशिया बैंक रहेका छन्।
कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ३.९१ प्रतिशत ब्याजदर कायम गरेको छ भने लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंकले ४ प्रतिशतका दरले ब्याज दिने भएका छन्। एनएमबि बैंकले ४.७५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
असार महिनामा सबैभन्दा बढी व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंकले ४.७५ प्रतिशत कायम गरेका छन्। त्यसपछि नबिल बैंक र प्रभु बैंकले ४.५५ प्रतिशत, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।
त्यसैगरी नेपाल बैंक र नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत, सिटिजन्स बैंकले ४.१० प्रतिशत तथा एभरेष्ट बैंक र सिद्धार्थ बैंकले ४.०५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार पछिल्लो समय कर्जा विस्तार अपेक्षाकृत कमजोर रहनु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध हुनु तथा निक्षेप संकलनको दबाब कम हुनुजस्ता कारणले ब्याजदर घट्ने वातावरण बनेको हो। नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति अवलम्बन गरेपछि बैंकहरूमा लगानीयोग्य रकमको उपलब्धता बढेको छ, जसको प्रभाव ब्याजदरमा देखिएको उनीहरूको भनाइ छ।
ब्याजदर घटेसँगै निक्षेपकर्ताले प्राप्त गर्ने प्रतिफलमा कमी आउने भए पनि कर्जा लिने ग्राहकलाई भने राहत पुग्ने अपेक्षा गरिएको छ। निक्षेपको लागत घट्दा बैंकहरूको आधारदर (बेस रेट) समेत घट्न सक्ने भएकाले आगामी दिनमा कर्जाको ब्याजदर थप सस्तो हुन सक्ने सम्भावना देखिएको छ।
बैंकिङ क्षेत्रका विश्लेषकहरूका अनुसार अर्थतन्त्रमा लगानी र आर्थिक गतिविधि विस्तार गर्न सस्तो कर्जा आवश्यक हुने भएकाले ब्याजदर घट्ने प्रवृत्तिले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको छ। यद्यपि निक्षेपकर्ताका लागि भने कम ब्याजदर चुनौतीपूर्ण बन्न सक्ने उनीहरूको धारणा छ।
असार महिनाका लागि सार्वजनिक नयाँ ब्याजदरले बैंकिङ क्षेत्रमा तरलताको अवस्था सहज रहेको संकेत गरेको छ भने आगामी महिनाहरूमा पनि ब्याजदर स्थिर वा थप घट्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।