नेपाल रिकन्डिसन अटो व्यवसायी संघको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन
Economic Khabar
३० जेष्ठ २०८३, शनिबार ११:५२
काठमाडौं। नेपाल रिकन्डिसन अटो व्यवसायी संघ (NFRABS) को नवौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा प्रमुख अतिथि रहेको कार्यक्रममा देशभरका रिकन्डिसन अटो व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवाैर दशाै साधारणसभा र राष्टिय अधिवेशन रमेशप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भयाे। अब बन्ने नयाँ नेतृत्व चयनसँगै संघले व्यवसायिक एकता, हकहित संरक्षण तथा अटो व्यवसाय क्षेत्रका साझा समस्याको समाधानका लागि थप सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री थापाले अटोमोबाइल व्यवसाय मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना तथा राजस्व संकलनसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले यसका समस्या समाधानमा प्रदेश सरकार सकारात्मक रहेको बताइन्। उनले व्यवसायलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिन्।
अधिवेशनको बन्दसत्रमा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। सहभागी व्यवसायीहरूले कर नीति, भन्सार प्रक्रिया, बैंकिङ पहुँच, विद्युतीय सवारीको बढ्दो प्रभाव तथा अटो बजारका समसामयिक चुनौतीबारे धारणा राखेका थिए।
संघका अध्यक्ष कोइरालाले व्यवसायीहरूको अधिकार संरक्षण, व्यवसायिक वातावरण सुधार तथा नीतिगत समस्याको समाधानका लागि संघले सरोकारवाला निकायसँग निरन्तर संवाद र पहल गर्ने बताए। उनले बदलिँदो अटोमोबाइल बजारसँगै व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन संघले विशेष योजना अघि बढाउने जानकारी दिए।
अधिवेशनले संगठनलाई थप सुदृढ बनाउने, सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने तथा रिकन्डिसन अटो व्यवसायलाई मर्यादित र व्यवस्थित रूपमा विकास गर्ने प्रतिबद्धतासहित विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।