काठमाडौँ, निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समीक्षा गर्न केन्द्रीय कार्यशाला सुरु गरेको छ। निर्वाचन सम्पन्न गर्ने क्रममा प्राप्त अनुभव, चुनौती र सुधारका क्षेत्रहरूको मूल्याङ्कन गर्ने उद्देश्यले आयोजित कार्यशालाको शुक्रबार उद्घाटन गरिएको हो।
कार्यशालाको उद्घाटन गर्दै भूतपूर्व प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अपरिहार्य रहेको बताउनुभयो। उहाँले निर्वाचन प्रक्रियामा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देखिएका कमजोरी सुधार गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले निर्वाचनलाई नागरिकको सार्वभौम अधिकारको प्रयोगसँग जोडिएको महत्वपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा उल्लेख गर्दै निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र जनविश्वासयुक्त बनाउन आवश्यक रहेको धारणा राख्नुभयो।
निर्वाचन आयोगका अनुसार कार्यशालामा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारी, मतदान, मतगणना, निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयन तथा सूचना प्रविधिको प्रयोगलगायत विषयमा विस्तृत समीक्षा गरिनेछ।
कार्यशालामा आयोगका पदाधिकारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रतिनिधि तथा सम्बन्धित सरकारी निकायका अधिकारीहरूको सहभागिता रहेको छ। निर्वाचन सञ्चालनका क्रममा विभिन्न जिल्लाबाट प्राप्त अनुभव र सुझावलाई समेत छलफलको आधार बनाइएको आयोगले जनाएको छ।
आयोगका पदाधिकारीहरूले निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कानुनी, नीतिगत तथा प्रशासनिक सुधारका विषयमा सुझाव संकलन गरिने जानकारी दिएका छन्। कार्यशालाबाट प्राप्त निष्कर्ष आगामी निर्वाचनको तयारी तथा व्यवस्थापन सुधारका लागि उपयोग गरिने जनाइएको छ।
निर्वाचन आयोगले लोकतान्त्रिक प्रक्रियाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न निर्वाचन प्रणालीको नियमित समीक्षा आवश्यक रहेको उल्लेख गरेको छ। कार्यशालाले निर्वाचन व्यवस्थापनका सबल पक्षलाई संस्थागत गर्दै सुधार आवश्यक क्षेत्र पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।