काठमाडौं,। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले ‘रिजनल सेल्स स्किल कन्टेस्ट २०८२/८३’ सम्पन्न गर्दै क्षेत्रीय विजेताहरूको घोषणा गरेको छ। यामाहा ट्रेनिङ एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगितामा देशभरका डिलर नेटवर्कबाट बिक्री तथा सेवा क्षेत्रका उत्कृष्ट प्रतिभाहरू सहभागी भएका थिए।
प्रतियोगिताको उद्देश्य अग्रपंक्तिमा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्नु, उत्कृष्ट प्रदर्शनकर्तालाई सम्मान गर्नु तथा भविष्यका लागि सक्षम बिक्री र सेवा टोली निर्माण गर्नु रहेको कम्पनीले जनाएको छ।
बिक्रीतर्फको प्रतिस्पर्धा काठमाडौं, इटहरी, बर्दिबास, भरतपुर र नेपालगञ्जमा आयोजना गरिएको थियो भने सेवातर्फको प्रतियोगिता काठमाडौं, बुटवल, बर्दिबास, इटहरी र नेपालगञ्जमा सम्पन्न भएको थियो। सहभागीहरूको मूल्याङ्कन उत्पादनसम्बन्धी ज्ञान, प्रतिस्पर्धीबारे जानकारी, अटोमोबाइलसम्बन्धी आधारभूत विषय तथा व्यावहारिक बिक्री र सेवा सीपका आधारमा गरिएको थियो।
सेल्स स्किल प्रतियोगितामा बी एण्ड बी अटो ट्रेडर्स, विराटचोकका चूडामणि आचार्य विजेता बने। भिएडब्लु इन्टरप्राइजेज, पोखराका समुन्द्र पंगेनी प्रथम रनरअप तथा डी एण्ड डी अटोलिङ्क, सीतापाइलाका अनिश महर्जन द्वितीय रनरअप घोषित भए।
त्यसैगरी, सर्भिस स्किल प्रतियोगितामा मोटो क्राफ्ट, गोंगबुका प्रवीण सान्डा विजेता बनेका छन्। ऋषिक अटोमोबाइल्स, कुमारीपाटीका निरोज श्रेष्ठ प्रथम रनरअप तथा क्रेशभ कमर्सियल, दमकका दिपन सरकार द्वितीय रनरअप बने।
विजेताहरूले आफ्ना प्रतिस्पर्धीहरूमाझ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा स्थान सुरक्षित गरेका छन्। साथै उनीहरूले भैरहवाको परासीस्थित यामाहा फ्याक्ट्री भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्। सर्भिस स्किल प्रतियोगिताका विजेताहरूले अन्तर्राष्ट्रियस्तरको स्किल प्रतियोगितामा समेत सहभागी हुने अवसर पाउने कम्पनीले जनाएको छ।
पाँचवटै क्षेत्रबाट बिक्री तथा सेवातर्फका उत्कृष्ट तीन–तीन जना गरी कुल ३० जना फाइनलिस्ट राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्। कम्पनीका अनुसार यो उपलब्धि व्यक्तिगत उत्कृष्टताको प्रतीक मात्र नभई सम्बन्धित डिलरशिपहरूको निरन्तर सिकाइ र व्यावसायिक विकासप्रतिको प्रतिबद्धताको उदाहरण पनि हो।
यस वर्ष एमएडब्लू राइड्स र यामाहा ट्रेनिङ एकेडेमीले बिक्री तथा सेवा दुवै विधालाई एउटै राष्ट्रिय कार्यक्रममा समेट्ने अवधारणा अघि सारेका छन्। राष्ट्रिय स्किल कन्टेस्ट २०८२/८३ जेठ १६ गते काठमाडौंको त्रिपुरेश्वरस्थित यामाहा ट्रेनिङ एकेडेमीमा आयोजना हुने तय भएको छ।
कम्पनीका अनुसार यो कार्यक्रम केवल प्रतिस्पर्धामा सीमित नभई दक्ष जनशक्ति विकासमार्फत यामाहाको डिलर नेटवर्कलाई थप सुदृढ बनाउने र ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने दीर्घकालीन प्रयासको हिस्सा हो।