जाजरकोट। जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद् र स्वास्थ्य जोखिमबीच जाजरकोटमा जलवायु–अनुकूल स्वास्थ्य पूर्वाधार निर्माणको महत्वपूर्ण पहलस्वरूप भेरी नगरपालिकास्थित भुर स्वास्थ्य चौकीको स्तरोन्नति सम्पन्न भएको छ।
नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) र जापान सरकारको सहयोगमा स्तरोन्नति गरिएको उक्त स्वास्थ्य चौकीको बिहीबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो। कार्यक्रम जापान सरकारको आर्थिक सहयोग तथा यूएनएफपीएको कार्यान्वयनमा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा तथा अनुकूलन क्षमता सुधार’ परियोजनाअन्तर्गत आयोजना गरिएको हो।
परियोजनाको मुख्य उद्देश्य जलवायु परिवर्तन तथा प्राकृतिक विपद्को उच्च जोखिममा रहेका समुदायमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्नु रहेको छ। विशेष गरी दुर्गम तथा विपद् प्रभावित क्षेत्रका गर्भवती महिला, सुत्केरी र नवजात शिशुलाई निरन्तर तथा सुरक्षित स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।
स्तरोन्नति गरिएको भुर स्वास्थ्य चौकीमा भवन मर्मत तथा सुधार, आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन, सेवा प्रवाह क्षमता अभिवृद्धि तथा स्वास्थ्यकर्मीहरूको कार्यक्षमता सुदृढीकरण गरिएको छ। यसले विपद् तथा प्रतिकूल मौसमका समयमा समेत स्वास्थ्य सेवा अवरुद्ध हुन नदिने अपेक्षा गरिएको छ।
परियोजना अन्तर्गत जाजरकोट र रौतहट जिल्लाका स्वास्थ्य संस्थाहरूलाई प्राथमिकतामा राखिएको छ। यी दुवै जिल्ला पहिरो, बाढी, शीतलहर तथा अन्य चरम मौसमी घटनाको उच्च जोखिममा रहेका क्षेत्र मानिन्छन्। यस्ता विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुँदा गर्भवती महिला र नवजात शिशु सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन्।
यूएनएफपीएका अनुसार परियोजनाअन्तर्गत देशभरका १० वटा स्वास्थ्य संस्थालाई जलवायु–अनुकूल नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने काम भइरहेको छ। भुर स्वास्थ्य चौकी तीमध्ये एक हो। स्वास्थ्य संस्थालाई विपद् प्रतिरोधी बनाउने, सेवा प्रवाहलाई निरन्तरता दिने तथा आपत्कालीन अवस्थाको सामना गर्न सक्षम बनाउने लक्ष्यअनुसार पूर्वाधार तथा व्यवस्थापन सुधार गरिएको बताइएको छ।
परियोजनाले स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि, चिकित्सकीय उपकरण तथा जीवनरक्षक सामग्रीको व्यवस्थापनमा समेत सहयोग गरेको छ। आपत्कालीन अवस्थाका लागि ‘मेडिकल क्याम्प किट’ तथा अन्य स्वास्थ्य सामग्री भण्डारणको व्यवस्था गरिएको छ, जसले विपद् प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा सञ्चालन गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
यसबाहेक स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति (HFOMC) का लागि जलवायु अनुकूलनसम्बन्धी निर्देशिका तयार गरी स्थानीय तहको स्वास्थ्य व्यवस्थापन प्रणालीलाई थप सक्षम बनाउने प्रयास गरिएको छ। यसबाट स्वास्थ्य सेवा योजनाबद्ध, दिगो र विपद्–मैत्री बन्ने विश्वास गरिएको छ।
उद्घाटन समारोहमा स्वास्थ्य चौकीलाई विभिन्न अत्यावश्यक स्वास्थ्य उपकरण औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सरोकारवालाहरूले जलवायु परिवर्तनका असर बढ्दै गइरहेको वर्तमान अवस्थामा स्वास्थ्य पूर्वाधारलाई जलवायु–अनुकूल बनाउने पहलले मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन, स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा विपद्का बेला पनि सेवा निरन्तरता सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र स्वास्थ्य सेवा सुदृढीकरणका प्रयाससँग जोडिएको यो परियोजनालाई स्थानीयवासीले पनि सकारात्मक रूपमा लिएका छन्। स्वास्थ्य सेवा कमजोर रहेको दुर्गम क्षेत्रमा यस्तो लगानीले समुदायको स्वास्थ्य सुरक्षा बलियो बनाउने अपेक्षा गरिएको छ।