काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती शहीद स्मृति स्मारक परिसरमा निजामती शहीदहरूको सम्मानमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका–५ स्थित जङ्गलडोलमा शुक्रबार बिहान आयोजित कार्यक्रममा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार निजामती शहीद घोषणा भएका व्यक्तित्वहरूको स्मृतिमा निर्मित स्मारकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गरिएको थियो।
राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती स्मारक विस्तार तथा उद्यान स्थापना एवं व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमन अर्याल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिजाल, प्रतिनिधिसभा सदस्य रामेश्वर फुयाँल, विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्व, नेपाल सरकारका सचिवहरू तथा अन्य विशिष्ट पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लोकतन्त्र, शान्ति र राष्ट्रिय एकताका लागि योगदान पुर्याउने शहीदहरूको योगदानको स्मरण गर्दै उनीहरूको त्याग र बलिदानलाई भावी पुस्तासम्म पुर्याउन यस्ता स्मारक तथा कार्यक्रमहरूको महत्वबारे प्रकाश पारेका थिए।
गणतन्त्र स्थापनाको २०औँ वर्षगाँठका अवसरमा आयोजित उक्त कार्यक्रममा शहीदहरूको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र सुशासनप्रति प्रतिबद्धता व्यक्त गरिएको थियो।
समितिका अनुसार राष्ट्रिय शहीद तथा शान्ति पार्कलाई शहीदहरूको स्मृति संरक्षण, नागरिक सचेतना अभिवृद्धि तथा ऐतिहासिक महत्वका विषयहरूको अध्ययन–अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष सिग्देलले बताएका छन।

