काठमाडौं । साविक गोंगबु गाविसको वडा नं. ८,९,१० र ११ तथा अहिलेको टोखा नगरपालिका वडा नं. ९, १० र ११ को संगमस्थल गोंगबु गणेशथान (विचबिनायक) मन्दिर क्षेत्रको पाटीमा नगरपालिकाको आज डोजर लगाई भत्काउन सफल भएको छ । टोखा नगरपालिकाले सो क्षेत्रमा सडक जामले गर्दा हुने सार्वजनिक सवारीको यात्रालाई सहज बनाउन टोखा–९ को विचबिनायक गणेश मन्दिर क्षेत्रको पाटी र अन्य टहरामा डोजर लगाई भत्काएको छ ।
गोंगबु–बानियाँटार सडकको बीच भागमा पर्ने उक्त पाटीले सार्वजनिक यातायात सवारीमा साँझ–बिहान कार्यालय समय र स्कुल जाने समयमा लामो जामबाट धेरै वर्षदेखि त्यस क्षेत्रका नागरिक प्रताडित हुँदै आएका थिए । स्थानीयहरुले टोखा नगरपालिकालाई सो टहरा हटाएर बाटो खुलाउन लामो समयदेखि नगरपालिकामा उजुरी दिने गरेको एक कर्मचारीले बताए ।
गणेशथान मन्दिर क्षेत्रमा रहेको विचविनाउक गनेद्यःछे तथा गौरी पुजा पसल, एम.के. प्लाजाले निर्माण गरेको फलामे भ-याङ र जुत्ता पसल रहेको टहराको केही भाग डोजर लगाई भत्काउन सफल भएको छ । स्थानीय राकेस सिंहकाअनुसार एम.के. प्लाजाले सो स्थानमा सरकारी जग्गामा बनेको इनार अतिक्रमण गरेर पुरेको पुरेको बताएका छन् ।
टोखा १० मा समेत थुप्रै सामुदायिक भवनहरु अमुक व्यक्तिहरुले लामो समयदेखि भाडामा लगाई मासिक भाडा असुल्दै आएको हुँदा त्यस्ता पात्रहरुमाथि कारवाही गर्नुपर्ने टोखाका स्थानीय नेता जग्गननाथ ढकालले बताएका छन् । ढकालले भने सबै वडामा अतिक्रमण भएका जग्गाहरु संरक्षण कार्यमा स्थानीय सरकारलाई साथ दिन स्थानीय तयार छ, तर पालिकाले संरक्षण अभियान तिव्र गतिमा सुरु गर्नुपर्ने बताए ।