‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ को लागि आवेदन खुला


“नेपाली सूचना प्रविधि उत्पादन र सेवालाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने सुवर्ण अवसर- ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६'”

काठमाडौँ, नेपाल मे २८, २०२६ नेपाली सूचना प्रविधि (IT) क्षेत्र र यहाँका नवप्रवर्तनकारी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने उद्देश्यका साथ प्रतिष्ठित ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ (ASOCIO Digital AI Award 2026) को लागि आवेदन आह्वान गरिएको छ । एसियन-ओशिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) द्वारा आयोजना गरिने यस अवार्डमा नेपालको तर्फबाट डिजिटल अर्थतन्त्र र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याइरहेका कम्पनी तथा संस्थाहरूले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
यस वर्षको मुख्य थिम “नेपाली टेक उद्यमी अवसर: आफ्ना उत्पादन र सेवाहरूलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्नुहोस् र एसोसियो डिजिटल एआई अवार्ड २०२६ प्राप्त गर्नुहोस्” (Nepali Tech Entrepreneur Opportunity for global showcase your products and services and gets ASOCIO Digital AI Award 2026) रहेको छ ।
अवार्डबारे चर्चा गर्दै एसोसियोका उपाध्यक्ष नवराज कुँवरले भन्नुभयो, “यो नेपाली प्रविधि उद्यमीहरूका लागि आफ्ना उत्पादन र सेवाहरूको गुणस्तर तथा सान्दर्भिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गर्ने र प्रतिष्ठित वैश्विक अवार्ड हात पार्ने एउटा ऐतिहासिक अवसर हो ।”
त्यसैगरी, क्यान महासंघ (CAN Federation) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सम्पूर्ण नेपाली प्रविधि कम्पनी, स्टार्टअप र सरोकारवालाहरूलाई आफ्नो संस्थागत प्रोफाइल दर्ता गर्न आग्रह गर्नुभएको छ । उहाँले थप्नुभयो, “यो मञ्च नेपाली समाज र समुदायमा स्थानीय प्रविधिले पारेको सकारात्मक प्रभावलाई विश्वसामु उजागर गर्ने र नेपाली प्राविधिक प्रतिभाको वैश्विक क्षमता प्रदर्शन गर्ने विशिष्ट माध्यम हो ।”