कार्यक्रममा सहभागीहरूले पुरस्कार विजेता फिल्म निर्माता तथा विज्ञापन क्षेत्रका कार्यकारी Izzy Chan को मार्गदर्शनमा अवधारणा विकासदेखि अन्तिम भिडियो निर्माणसम्मको प्रक्रिया सिकेका थिए। स्मार्टफोन प्रविधिको प्रयोगमार्फत भिडियो छायांकन, अन्तर्वार्ता सञ्चालन, सम्पादन तथा डिजिटल सामग्री निर्माण सम्बन्धी व्यावहारिक सीप विकास गरिएको दूतावासले जनाएको छ।

कार्यशालाबाट तयार गरिएका छोटा डकुमेन्ट्रीहरू अमेरिकी तथा स्थानीय ब्रान्डलाई केन्द्रमा राखेर निर्माण गरिएको थियो। सहभागीहरूले व्यावसायिक रूपमा प्रयोग गर्न सकिने कथावाचन शैली र डिजिटल प्रस्तुतीकरणलाई व्यवहारिक अभ्यासमार्फत आत्मसात गरेका थिए।
समापन कार्यक्रममा Scott Urbom ले सहभागीहरूको सिर्जनात्मकता, मेहनत र समर्पणको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विश्वव्यापी सिर्जनात्मक सहकार्य, क्रियटिभ अर्थतन्त्रको विकास र साझा मूल्यहरूको प्रवर्द्धनमा योगदान पुर्याउने बताए।
उनले नेपाली युवाहरूले आफ्नै प्रविधि र स्थानीय परिवेश प्रयोग गरेर अन्तर्राष्ट्रिय स्तरको सामग्री निर्माण गर्न सक्ने क्षमता प्रदर्शन गरेको उल्लेख गरे। “स्थानीय दृष्टिकोणलाई विश्वव्यापी कथावाचनसँग जोड्ने क्षमता नै यस्ता कार्यक्रमको मुख्य उपलब्धि हो,” उनले बताए।
दूतावासका अनुसार सहभागीहरूले सिर्जनात्मक डिजिटल सामग्री निर्माणमार्फत नेपालको बढ्दो डिजिटल मिडिया र क्रियटिभ उद्योगमा करिअर निर्माणका लागि आवश्यक व्यावहारिक अनुभव हासिल गरेका छन्। साथै अन्तर्राष्ट्रिय सहकार्य र ब्रान्ड–केन्द्रित सामग्री उत्पादनमा पनि उनीहरूको क्षमता विकास भएको जनाइएको छ।